शनिश्चरे/बाढी र पहिरोले पाइप बगाउँदा उत्तरपूर्वी मोरङको लेटाङ नगरपालिकाको वडा नम्बर ८ र ९ मा पर्ने जाँतेमा खानेपानीको हाहाकार भएको छ ।
अविरल वर्षाका कारण गत शनिबार आएको बाढीपहिरोले खानेपानीको पाइप बगाएपछि स्थानीयवासी एक सातायता खोलाको धमिलो पानी पिउन बाध्य छन् । अविरल वर्षासँगै खसेको पहिरो र तेली खोलामा आएको बाढीले जाँते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाइप बगाएको समितिका अध्यक्ष डिल्ली विश्वकर्माले जानकारी दिए । उनका अनुसार बाढी र पहिराले १० ठाउँमा पाइप बगाएको छ।
विसं २०३९ देखि सञ्चालित खानेपानी योजनाको पाइप बगाएपछि जाँतेका एक हजार ५०० घरधुरी खानेपानीको सुविधाबाट वञ्चित छन् । बाढीले तीन हजार ५०० मि पाइप बगाएको हो । तत्कालै पाइप जोड्न सक्ने अवस्था नरहेको र गाउँले मिलेर केही स्थानमा पाइप जोडे पनि वर्षा भइरहेकाले फेरि खोलाले भत्काएको अध्यक्ष विश्वकर्माले बताए । तेली खोलाको मुहानबाट ल्याइएको पानी स्थानीयवासीलाई वितरण गरिएको छ ।