महेन्द्रनगर/ दुईसाता अघि नदिमा डुबेर मरेकी भनिएकी एक बालिकाको हत्या गरी खोलामा फालेको रहस्य खुलेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मटैनाकी दश बर्षीया बालिका शीतल बिष्टको घाँटी थिचेर मारेको खुलेको हो।
साउन २१ गतेका दिन बालिकाको हत्या गरी रातिको समयमा नजिकैको खोलामा लगेर शव फालिएको खुलेको प्रहरीले जनाएको छ। घरबाट बालिका हराएपछि खोजी गर्ने क्रममा साउन २२ गते खोलामा शव भेटिएपछि डुबेर मरेको भन्दै घटनालाई भवितव्यका रुपमा लिइएको थियो।
बालिकाको शव पोष्टमार्टम पछि परिवारजनले दाहसंस्कार गरेका थिए। पोष्टमार्ट रिपोर्टमा बालिकाको खोलामा डुबेर नभई उनको घाँटी थिचेर मारिएको भन्ने देखिएपछि प्रहरीले घटना भवितब्य नभई कर्तब्य ज्यान अन्र्तगत अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा उनको हत्या नै भएको पुष्टि भएपछि प्रहरीले हत्याराको खोजी गरेको थियो।
हत्यारा पक्राउ गरिएपछि उनको बयानले हत्या गरी शव खोलामा फालेको पुष्ट्रि भएको कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी भीम बहादुर दाहालले जानकारी दिए। ‘हामीले पोष्टमार्टम रिपोर्ट आएपछि कर्तब्य ज्यान अन्र्तगत अनुसन्धान थाल्यौं’ उनले भने,‘ शंकास्पद मानिस पक्राउ परेपछि हत्या गरी फालिएको पुष्ट्रि भएको हो’।
प्रहरीले बालिकाको हत्या गरी फरार रहेका भीमदत्त नगरपालिका ९ मटैनाका ३० बर्षीय हिरासिंह ऐरीलाई भारतको हरियाणाबाट पक्राउ गरेको हो। ऐरीले मदिराको नशामा बालिकाको घाँटी थिचेर बेलुकापख मारेको र राति खोलामा लगेर शव फालिदिएको बयान दिएका छन्। ऐरीले हत्या गरे लगत्तै शव घरको भान्सा पछाडि राखेको र राति लगेर खोलामा शव फालिदिएको प्रहरीले बताएको छ।
घर नजिकैको छिमेकी ३० बर्षीय हिरासिंह ऐरीसंग बालिका दिउँसो खेलिरहेको अवस्थामा बालिकालाई जबरजस्ती गर्न खोज्दा बालिकाले प्रतिकार गरेको हुन सक्ने र थाहा हुने डरले घाँटी थिचेर मारेको प्रहरीको आशंका छ।
घरबाट भागेर टनकपुर गएका उनी त्यहाँबाट हरियाणा पुगेका थिए। प्रहरीले ऐरीलाई कर्तव्य ज्यान अन्र्तगत मुद्वा दायर गरी कारबाही थालेको जनाएको छ।