इटहरी/ पूर्व पश्चिम राजमार्ग अन्तरगत काकरभिट्टा देखि पथलैया खण्डसम्म पर्ने महेन्द्र राजमार्ग थप विस्तार गरिने भएको छ । सडक बीचबाट दायाँ बायाँ २५/२५ मिटरसम्मको सडक विस्तारको लागि भौतिक योजना तथा निर्माण मन्त्रालय वैदेशिक महाशाखाले पुनर्वास सर्वेक्षण शूरु गरेको छ ।

विश्व बैंकको सहयोगमा सञ्चालन रहेको ‘नेपाल भारत क्षेत्रीय ट्रेड एण्ड ट्रान्सपोर्ट आयोजना’ मार्फत सो योजनाको सर्वे शूरु भएको हो । सो क्षेत्रको ३ सय ६६ किलो मिटर सडक खण्ड विस्तारको वातावरण तथा सामाजिक पुनर्वास सर्वेक्षणका लागि मन्त्रालयले इन्भारोमेन्ट एण्ड रिसोर्स मेनेजमेन्ट कन्सलटेन्स प्रालिलाई जिम्मा दिएको छ । प्रालिले इटहरी र पश्चिम क्षेत्रको सर्वे गरिरहेको प्रालिका लेलिन शर्माले जानकारी दिए । ‘तीन टोली बनाएर हामीले सर्वे गरिरहेका छौं’ शर्माले भने ‘१५ दिन भित्र सर्वे तयार गरी रिपोर्ट बुझाउने छौं ।’

पुनर्वास सर्वेक्षण अन्तरगत सडकको बीच भागबाट दायाँ वायाँ २५/२५ मिटर भित्र पर्ने व्यक्तीगत घर, सार्वजनिक घर, हाटबजार, खानेपानी, विजुली, रुख, मन्दिर, गुम्बा, चिहान तथा जग्गाको तथ्याङ्क तयार भए पछि निर्माणको प्रकृया शूरु हुने बताइएको छ । साथै सोही सर्वेक्षण अन्तरगत वातावरणीय सर्वेक्षण समेत हुने शर्माले बताए । सडक आसपासका वासिन्दालाई सडक विस्तारको आवश्यक्ता र त्यसबाट पर्न सक्ने प्रभावको बारेमा सुझाव समेत लिने काम भइरहेको सर्वेक्षणको जिम्मा पाएको कन्सल्टेन्सले जनाएको छ । अहिले इटहरीको सर्वे सकिएको छ । इटहरीमा निर्माण भएका पक्की घरलाई सो मापदण्डले खासै असर नगरे पनि पक्की घर अगाडि थपिएका संरचना सडक विस्तारको क्षेत्र भित्र पर्ने बताइएको छ । अहिलेसम्मको सर्वेक्षण अनुसार सबै भन्दा बढी इनरुवा क्षेत्रमा क्षेत्रगत प्रभाव देखिएको छ । ‘धेरै ठाउँमा सर्वे गर्न अझै बाँकी छ’ सर्वेक्षणमा आएका कन्सल्टेन्सका प्राविधिक शर्माले भने ‘इनरुवा क्षेत्रमा सडकको क्षेत्रमा अली बढी पक्की संरचना रहेको पाइएको छ ।’ पुनर्वास सर्वेक्षणमा स्थानीय तहका जनप्रतिनिधी तथा प्राविधिक कार्यालयका प्रतिनिधीसँग समेत छलफल भएको सर्वे गर्दै आएको कम्पनीले जनाएको छ ।

२०२२ सालमा नवलपरासी जिल्ला खण्डमा पर्ने गैडाकोटमा तत्कालिन राजा महेन्द्र शाहबाट यो राजमार्गको उदघाटन गरीएको थियो । पूर्व–पश्चिम राजमार्ग नेपालको सबैभन्दा लामो राजमार्ग हो । यो राजमार्ग नेपालको तराईमा पूर्वदेखि पश्चिमसम्म फैलिएको छ । खासगरी भारत तथा सोभियत संघको सहयोगमा निर्माण भएको यो राजमार्गको लम्बाई १०२७.२७ किलोमिटर छ । झापाको काँकरभिट्टादेखि कञ्चनपुरको बनबासा सम्मको दुरी तय गर्दा यो राजमार्गले कोशी, बाग्मती, गण्डकी, कर्णाली जस्ता ठूलठूला नदीहरू पार गर्दछ । राजा महेन्द्रले वि.सं २०१९ मा निर्माण शुरू गरेको यो राजमार्गको नाम उनकै नामबाट महेन्द्र राजमार्ग राखिएको भएता पनि जनताले यसलाई पूर्वपश्चिम राजमार्ग भन्दै आएका छन् । पर्सा जिल्ला मात्रै नजोडिएको यो राजमार्गले तराईका अन्य जिल्ला जोडेको छ । पछिल्लो सयममा सवारीको चाप बढेसँगै राजमार्गमा ट्राफिक व्यवस्थापन गर्न समस्या हुँदै आएको छ । भएको सडक पनि नियमित मर्मत नुहने र सवारी चालकहरुको लापर्वाही र छाडा छोडिएका चौपायाहरुको कारण दुर्घटना हुने क्रम बढेको छ ।