पोखरामा रहेका अधिकांश यौन व्यवसायीले आफ्नै छुट्टै कोठा वा घरको फ्ल्याट भाडामा लिएर व्यवसाय सञ्चालन गर्ने सरकारी अध्ययनले देखाएको छ । राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रले पोखरामा यौन व्यवसायमा संलग्न ३ सय ४२ जना यौनकर्मीमा गरेको सर्वेक्षणमा ६८ प्रतिशतले आफूहरूले आफ्नै निजी कोठामा ग्राहक ल्याउने कुरा बताएका थिए । उनीहरूले आफ्ना केही नियमित ग्राहक भएको र केही आफैं खोज्दै आउने जवाफ दिएको सर्वेक्षणका कोर्डिनेटर साइपाल नेपालका कार्यक्रम निर्देशक पवन अधिकारी बताउँछन् । १६ देखि ४८ वर्ष उमेर समूहका यौन व्यवसायीमा गरिएको उक्त अध्ययनमा आधाभन्दा बढीले आफू अविवाहित भएको उत्तर दिएका थिए, जसमा ४८ प्रतिशतले विवाह गरेको तर सम्बन्धमा नरहेको बताएका थिए । सम्बन्धमा नरहेकाहरूमध्ये पनि ११ प्रतिशतले सम्बन्धविच्छेद गरिसकेको जानकारी दिए ।

यौन व्यवसायमा संलग्नमध्ये ९० प्रतिशत शिक्षित छन् । उनीहरूले आफूलाई यौनरोगका बारेमा जानकारी रहेको बताएका छन्, तर यौनसम्पर्कका बखत कन्डम प्रयोग गर्ने आधाभन्दा केही बढी मात्र छन् । नियमित यौनसम्पर्कमा कन्डम प्रयोग गर्नेहरूको संख्या ५२ प्रतिशत छ भने ४२ प्रतिशतले चिनेजानेको वा नियमित यौन साथीसँग यौनसम्पर्क गर्ने कन्डम प्रयोग नगर्ने बताएका थिए । पोखरामा यौन व्यवसायमा संलग्न महिलामध्ये २६ प्रतिशत नयाँ यौन व्यवसायी थपिएको पाइएको छ । सर्वेक्षणमा सहभागीमध्ये ७४ प्रतिशतले आफूहरू दुई वर्षभन्दा पहिलेदेखि नै यो व्यवसायमा संलग्न रहेको बताएका थिए ।

व्यवसायमा संलग्न अधिकांश महिलाले आफ्नो पहिलो यौनसम्बन्ध आफू २० वर्ष पुग्नुअघि भएको जवाफ दिएका थिए । यसरी २० वर्षभन्दा पहिले नै यौनसम्पर्क भएको बताउनेमा ३ सय १ जना (८८ प्रतिशत) महिला थिए । उनीहरूले दैनिक सरदर दुई जनासँग यौनसम्पर्क हुने बताएको अधिकारी बताउँछन् । यसरी दैनिक एकभन्दा बढी ग्राहकसँग यौनसम्पर्क गरे पनि आफैं कन्डम लिएर हिँड्ने महिलाहरूको संख्या निकै कम छ । ‘कन्डम लिएर हिँड्नुहुन्छ ? ’ भनेर सोधिएको प्रश्नमा ८० प्रतिशतले ‘बोक्छु’ भन्ने जवाफ दिए पनि देखाउन अनुरोध गर्दा २६ प्रतिशतले मात्र आफूसँग भएको कन्डम देखाउन सकेको सर्वेक्षणमा उल्लेख छ ।