धरान/धरानमा नाटकीय अपहरणको ‘नाटकीय तरिकाले’ अन्त्य भएको छ । धरान–१७ विद्याटोलका प्रदीप भनिने प्रतिमान बिकलाई शुक्रबार धरानको निकेतन गल्लीबाट नियन्त्रणमा लिँदै नाटकीय अपहरणको अन्त्य भएको हो । हजबुल मियाको मासु पसलमा कार्यरत प्रतिमानले आफू अपहरणमा परेको भन्दै हजबुललाई साउन १७ गते फोनमा बताएका थिए । उक्त घटनापछि बिकको फूपूको छोरा सुमन गजमेरले खोजीतलास गरिपाउँ भन्दै इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका थिए । यस विषयमा प्रहरीले पनि सुक्ष्म तरिकाले अनुसन्धान थालेको थियो । जिल्ला प्रहरीबाट एकजना प्रहरी नै यो मुद्दामा खटिएका थिए । पक्राउ परेका बिकले ‘आफू हजबुलको पसलमा काम गर्न मन नलागेकाले छुटाकारा पाउनको लागि’ अपहरणको नाटक गरेको प्रहरीमा बयान दिएको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । ‘हजबुलको मासु पसलमा काम गर्न मन नलागेकाले निस्किनको लागि अपरहणको नाटक गरेको बयान दिएको छ ।’ डिएसपी खतिवडाले भने । बिकलाई कानुनी उपचार गर्ने विषयमा प्रहरीले सरकारी वकिलसँग सहकार्य गरिरहेको छ । अपहरणमा परेको भनेर जुन खाल्को अफवाह फैलाएको छ त्यसका लागि पनि उसलाई कडा कारबाही गर्ने प्रहरीले तयारी थालेको छ । धरानमा ८ वर्षयता अपहरणको कुनै पनि घटना नभएको प्रहरी बताउँछ । बिक अपहरणमा परेको बताएपछि विभिन्न स्थानमा घुमेको डिएसपी खतिवडाले बताए । उनका अनुसार उदयपुरलगायत क्षेत्रमा घुमेको पाइएको थियो । जसका लागि सादा पोशाकमा दुईजना प्रहरी नै खटाएको थियो ।