व्यक्ति स्तरमा

आत्महत्या गर्न सक्ने सम्भावना भएका व्यक्तिको पहिचान गरी भेट्नुपर्छ । त्यस्ता व्यक्तिको कुरा ध्यानपूर्वक सुन्नुपर्छ । त्यसबाट खास समस्या के रहेछ भनेर जानकारी पाईन्छ र त्यो समस्याले उसको भावनामा कति गहिरो चोट पुर्याएको रहेछ भनेर अनुमान लगाउन सकिन्छ ।

– प्राय मानवीय स्वभाव अरुलाई सल्लाह दिने हुन्छ । भनिन्छ सबैजना सल्लाह दिन चाहन्छन्, तर लिन कोही पनि चाहदैँँनन । त्यसैले आत्महत्या गर्ने विचार गरिरहेका व्यक्तिलाई सल्लाह दिन नहतारिनुुस् । उसको कुरा राम्ररी सुनेर समस्याको समाधान गर्ने के–के तरिका छन्, के–के उपाय छन् त्यसबारे छलफल गर्नु उपयुक्त हुन्छ ।

– जीवनमा आशा हुँदासम्म मानिसले आफ्नो जीवन अन्त्य गर्नेबारे सोचेको हुँदैंन । आत्महत्या गर्र्ने निर्णय गरेको व्यक्तिको आशा पूरै मरिसकेको हुन्छ । केही आशा जगाउन सके आत्महत्यालाई टार्न सकिन्छ ।

– शारीरिक वा मानसिक स्वास्थ्य समस्या रहेछ भने उपचार गराउन सम्वन्धित विशेषज्ञकहाँ लिएर जाने, आवश्यकताअनुसार अस्पतालमा भर्ना गर्ने वा उपचार गर्ने गर्न सकिन्छ ।

– आत्महत्या गर्न सक्ने सम्भावना भएका व्यक्तिलाई एक्लै नछाड्नुस । उसको परिवार, केटाकेटी, साथीभाई, आफन्त मिलेर कुराकानी तथा अन्य सामान्य क्रियाकलाप गरेर भुलाउने, व्यस्त राख्ने प्रयास गर्नुहोस् ।

– आत्महत्या गर्ने धेरै सम्भावना भएको व्यक्तिको मनमा बारम्बार आत्महत्या गर्ने विचार आउँदासम्म संकट रहिरहन्छ , जब यस्ता विचार घट्दै जान्छन् तब मात्र संकट पनि घट्दै जान्छ । चिकित्सक वा मनोवैज्ञानिक परामर्शदाताले परीक्षण गरेर खतरा बढी छ वा छैन सल्लाह दिन सक्छन् ।

परिवारबाट सहयोग

पारिवारिक कलह, श्रीमानश्रीमतीबीचको सम्वन्धमा समस्या तथा विश्वासको कमी र पारिवारिक सहयोग नहुँदा पनि आत्महत्या गर्ने सोचाईको बिजारोपण हुनसक्छ । परिवारमा सहयोगको भावना, माया, प्रेम, विश्वास र राम्रो सम्वन्ध आत्महत्या रोक्नका लागि सहयोगी हुन्छन् ।

आत्महत्या गर्ने विचार भएको व्यक्तिले सिधा वा घुमाउरो तरीकावाट आफ्नो विचार पोखेका हुन्छन् । जस्तैः अब धेरै दिन बाँचिन्न होला, संगै बस्ने दिन सकिँदैछन्, हाम्रो यो भेट अन्तिम पनि हुन सक्छ आदि । यस्ता कुरालाई सामान्य रूपमा लिनुहुँदैन । मानसिक वा शारीरिक उपचार गराईराखेका बिरामीलाई बेलाबेलामा चिकित्सकलाई देखाउने, सरसल्लाह लिने, औषधि उपचार गराउने आदि जिम्मेवारी परिवारको हो ।

समुदायको सहयोग

आर्थिक समस्या, जनचेतनाको कमी, अन्धविश्वासलगायतका कारण मानसिक रोगीले उपचार गराएका हुँदैनन् । परिवारले सहयोग गर्नुको साटो अवहेलना, असहयोग गरिराखेका हुन्छन् । आत्महत्या घटाउनका लागि समुदायका चेतनशील वर्ग ले ठुलो सहयोग गर्न सक्छन् ।

आत्महत्या कुनै पनि समस्याको समाधान होइन । समस्यासँग लड्न, डटेर सामना गर्ने वा आत्महत्याको बदला अर्को बाटो पहिल्याउन सक्यो भने अकालमा जीवन जाँदैन ।