धरान/रोटरी क्लब अफ धरान घोपा र रोटर्‍याकट क्लब अफ धरान घोपाले प्रत्येक बर्षझै यस बर्ष पनि श्रावन महिनाभर पिण्डेश्वर बाबाधाम नि: शुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् । यो स्वास्थ्य शिविर श्रावण महिनाको प्रत्येक आइतबार र सोमबार हुने गर्दछ जसमा बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका चिकित्सकहरु तथा रोटर्‍याकटरहरुको सहभागिता हुन्छ । पिण्डेश्वर बाबाधाम आएका श्रद्धालु भक्तजनहरुलाई लक्षित यो नि: शुल्क स्वास्थ्य शिविरमा चोटपटक लागेका , जलवियोजन भएका , झाडापखाला लागेका , बेहोस भएका भक्तजनहरुलाई नि: शुल्क स्वास्थ्य जाँच गरि नि : शुल्क औषधि वितरण गरिन्छ । यसका साथै जीवन जल र ग्लुकोज वितरण , सर्जिकल ड्रेसिङ्ग , टि. टि. खोप आदिको व्यवस्था र गम्भीर घाइते वा बिरामी भएका भक्तजनहरुलाई रेड क्रसको एम्बुलेन्सद्वारा बि.पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षसम्म नि:शुल्क पुर्‍याउने सुविधा रहेको जानकारी प्रतिष्ठानका एम.बि.बि.एस. दोस्रो बर्षमा अध्ययनरत क्लबका प्रवक्ता रोटर्‍याकटर शुभम कुमार अग्रवालले बताए।  मन्दिर समितिको सहयोगमा विगत आठ बर्षदेखि मन्दिर प्राङ्गणमा निरन्तर आयोजना गरिएकोे शिविरमा यस पटक सम्म १सय २३ जना श्रद्धालु भक्तजनहरुलाई स्वास्थ सहयोग गरिसकेकाे छ । आफ्नो ब्यस्तताका बावजुद पनि समय निकालेर प्रतिष्ठानका डा. राहुल कर्ण , डा.न्युटन रानाभाट , रोटर्‍याकटर शुभम कुमार अग्रवाल, रोटर्‍याकटर गिरेन्द्र यादव , रोटर्‍याकटर बोलबम रज्ज्क र रोटर्‍याकटर विजयानन्दले सो शिविरमा भक्तजनहरुलाई अहोरात्र स्वास्थ सेवा प्रदान गरेका छन्। प्रतिष्ठानमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुले स्थापना गरेको रोटर्‍याकट क्लब अफ धरान घोपाले हरेक दुई हप्तामा रेडियो कार्यक्रम 'रोटर्‍याकट स्वास्थ दर्पण'प्रसारण , विद्यालयहरुमा नि : शुल्क 'पुनर्जीवन' प्राथमिक उपचार तालिम , नि : शुल्क प्रौढ शिक्षा कार्यक्रमहरु , जनचेतना मुलक सडक नाटकहरु , सडक बालबालिकाहरुको नि : शुल्क स्वास्थ जाँच शिविरहरु , नि : शुल्क स्वास्थ शिविरहरु तथा विविध शिक्षा र स्वास्थसङ्ग सम्बन्धित कार्यक्रम आयोजना गर्दै आएका छन् ।