बिर्तामोड/ स्थानीय निर्वाचनमा अन्तर्घात गरेर पार्टीले उठाएको उम्मेदवारलाई हराएको भन्दै कारवाही प्रक्रिया शुरु गरेपछि काङ्ग्रेसको कनकाई नगरपालिकामा भाँडभैलो शुरु भएको छ ।

नगर सभापति नेत्रप्रसाद चिमरियाले विज्ञप्ति जारी गर्दै निर्वाचनमा अन्तर्घात गरेर पार्टीका उम्मेदवार एकराज उप्रेतीलाई हराएको आरोप लगाउँदै महासमिति सदस्य रमेश श्रेष्ठसहित विभिन्न आठजनालाई कारवाहीका लागि माथिल्लो निकायमा सिफारिस गरेको बताएका थिए ।

कारवाहीमा पर्नेहरूमा श्रेष्ठसहित पूर्व जिल्ला सदस्य सुकदेव पौडेल, सक्रिय सदस्य युवराज सङ्ग्रौला, क्षेत्रीय प्रतिनिधि पवन साह, सक्रिय सदस्य सुशील पोखरेल, इन्द्र श्रेष्ठ, निलम कटुवाल (निल डेबिड) र साधारण सदस्य कुमारमणि पोखरेल छन् ।‘पार्टी हितविपरीत जानेलाई वडाको समीक्षा बैठकमा पेश गरेर कारवाही सिफारिस गरिन्छ’, काङ्ग्रेसका पूर्व जिल्ला सदस्यसमेत रहेका पौडेलले भने, ‘विधि–विधानविपरीत गुण्डागर्दी शैलीमा पार्टी सञ्चालन गरिएको छ ।’

नेतृत्व बेलैमा सच्चिएन भने यो घटनाले गम्भीर क्षति पुग्ने चेतावनी उनले दिए ।महासमिति सदस्य श्रेष्ठले भने विज्ञप्ति नै प्रकाशित गरेर कडा शब्दमा भत्र्सना गरेका छन् । उनले २०६२÷०६३ को जनआन्दोलनताका राजाका पृष्ठपोषकसमेत रहेका उप्रेतीलाई काङ्ग्रेसले मेयरको उम्मेदवार बनाएको आरोप लगाएका छन् ।

‘नेताहरूको गुलामी गरेर टिकट पाउन सकिन्छ तथा पैसा खर्च गरेर चुनाव जित्न सकिन्छ भन्ने सोच भएका व्यक्तिले चुनाव हारेपछि इमान्दार कार्यकर्तालाई कारवाहीको नाटक रचिएको’ विज्ञप्तिमा उल्लेख छ ।अाफु बषाैदेखी जनता र पार्टीका काममा मेहनतका साथ सक्रिय रहेको उल्लेख गर्दै श्रेष्ठले अध्ययन–अनुसन्धान र छानबिन नै नगरी हचुवाका भरमा कारवाही गर्नुको कुनै तुक नभएको जनाएका छन् । ‘काङ्ग्रेसको सच्चा नेतृत्व हो भने विधि र प्रक्रिया अवलम्बन गर्न अनुरोध गर्छु ।’

विज्ञप्तिमा भनिएको छ ।कारवाही गर्नेहरूले ‘सूर्यमा भोट माग्दै हिँडेको भनिदिनुपयो, त्यसको बदलामा जति पनि दिन्छौँ’ भन्दा पनि पार नलागेपछि मेयरका उम्मेदवार उप्रेती, जिल्ला सदस्य गोपाल उप्रेती, क्षेत्रीय सभापति भीम राजवंशी, नगर सभापति नेत्र चिमरिया र विष्णु खरेलको डिजाइनमा कारवाहीको नाटक रचिएको आरोप लगाइएको छ ।

मासिक बैठक भनेर बोलाई चुनावको समीक्षा गरिएको र इमान्दार कार्यकर्ताको त्याग र बलिदानको मानमर्दन गरिएको आरोप विज्ञप्तिमा लगाइएको छ ।कसैको राजनीतिक चरित्र हत्या गर्न पूर्वाग्रह राखेर गरिएको यस्तो सिफारिसले पार्टीको अहित गर्ने बताउँदै नगर समितिले गरेको निर्णय सच्याउन आग्रह गरिएको छ ।

साथै, पार्टीलाई कनकाई नगरपालिकामा समाप्त पार्नका लागि भूमिका खेल्ने व्यक्तिको पहिचान गरी कारवाहीको दायरामा ल्याउन तथा पार्टी निर्माणमा सक्रिय भएर लाग्न आग्रह गरिएको छ । कनकाईमा काङ्ग्रेसबाट उम्मेदवार बनेका उप्रेती एमालेका उम्मेदवार राजेन्द्र पोखरेलबाट झण्डै २ हजार २ सय मत अन्तरले पराजित भएका थिए ।