धनकुटा/ धनकुटाको महालक्ष्मी नगर कार्यपालिकाको बैठक वुधवार सम्पन्न भएको छ । बैठकले चार वटा नियमावली तथा कार्यविधि पारित गरेको छ । त्यस्तै कार्य सञ्चालनका लागि छ वटा समितिहरु समेत निर्माण गरिएको छ । महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले आदेश र अधिकार प्रमाणिकरण कार्यविधि नियमावली, कार्य बिभाजन नियमावली,कार्य सम्पादन नियमावली र बैठक सञ्चालन कार्यविधि पारित गरेको महालक्ष्मी नगरपालिकाका प्रवक्ता रामबहादुर खड्काले जानकारी दिएका छन् । बैठकले वडाध्यक्षहरुको अध्यक्षतामा छ वटा समितिहरु पनि निमाण गरेको छ । महालक्ष्मी ६ का वडाध्यक्ष डम्बर बहादुर कार्कीको अध्यक्षतामा सेवा तथा क्षमता विकास समिति, ९ नम्बर वडाध्यक्ष बोधनाथ काफ्लेको अध्यक्षतामा सामाजिक विकास समिति र ८ नम्बर वडाध्यक्ष राम बहादुर खड्काको अध्यक्षतामा पूर्वाधार विकास समिति निर्माण गरिएको छ । त्यस्तै महालक्ष्मी ७ का वडाध्यक्ष रुद्र वहादुर तुम्वा लिम्वुको अध्यक्षतामा विधेयक समिति, ३ नम्बर वडाध्यक्ष भरत थापाको अध्यक्षतामा आर्थिक विकास समिति र ४ नम्बरका वडाध्यक्ष शिव कुमार तुम्वाको अध्यक्षतामा वातावरण तथा विपत ब्यवस्थापन समिति निर्माण गरिएको हो । बैठकमा बोल्दै महालक्ष्मी नगरका प्रमुख पर्शुराम नेपाल र उप–प्रमुख मञ्जु अधिकारीले यातायात, बिधुत, खानेपानी, शिक्षा, स्वास्थ्य,आदिवासी जनजातिहरुको भाषा, संस्कार संस्कृति जगेर्ना जस्ता विषयलाई विशेष प्राथमिकतामा राखेर जनताको सेवामा लागी पर्न निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन ।