शनिश्चरे/ वर्षको वाढीले वक्राहा खोलो वस्तीमा पसेपछि घरबारविहिन बनेका दक्षिणपूर्वी मोरङका हजारौं परिवार ठेकेदारको लापरवाहीका कारण यस वर्षको वाढीमा उसैगरी त्रासमा रहन वाध्य भएका छन् ।गत असार ७ गते पहिलो पटक र साउन ८ गते दोस्रो पटक पथरीशनिश्चरे ५ को हसन्दहस्थित जयनगरवाट वाध भत्काएर वक्राहाको बाढी गाउँ पसेको थियो ।
खोला गाउँ पसेको स्थानमा तत्काल जनश्रमदानबाट बाँसका किला गाडेर बोरामा माटो भर्ने तटबन्धको कच्ची काम भएको थियो । कच्चा बाँध नै रहेको अवस्थामा मध्य वर्षाको यो समयमा कुनै न कुनै वेला फेरि खोला गाउँ पस्ने डरले आकाश धुम्मिनासाथ स्थानीयमाथि त्रास मडारिने गरेको छ ।
‘ आकाश धुम्मिनासाथ हामीलाई ठूलो त्रास सिर्जना हुन्छ । पोहोरको त्रास सम्झाउँछ । तर यसबेलासम्म पनि ठेकेदार कम्पनीले काम नसकी सम्पर्कविहनीन हुँदा हामीमाथि ठूलो अन्याय भएको छ ।’– सुनवर्षी नगरपालिका वडा नम्बर २ का अध्यक्ष प्रताप तामाङले वाढीपिडीतको अवस्था दर्शाए ।
बक्राह नदीको तटबन्धको जिम्मा पाएको निकिता कन्स्ट्रक्सनले काम बीचैमा छाडेपछि पथरीशनिश्चरे नगरपालिकाको हसन्दह, सुगा, सुनवर्षी नगरपालिकाअन्तर्गत पर्ने अमरदह, डाइनिया, टकुवा लगायतका आधा दर्जन गाउँ बाढीको निरन्तर उच्च जोखिममा परिरहेका छन् । त्यहाँका हजारौं घरपरिवार निरन्तर त्रासमा छन् ।
निकिताले जयनगरमा बाँध फुटाएको पाँच सय मिटर क्षेत्र तटबन्ध निर्माणका लागि १ करोड १ लाख रुपैयाँमा ठेक्का पाएको थियो । असार मसान्तसम्मका तटवन्धको काम सक्नुपर्नेमा केही माटो भरी जम्मा ३० प्रतिशत मात्र काम गरेर ठेकेदार सम्पर्क विहीन बनेपछि स्थानीयमा पुन त्रास थपिएको जानकारी आएको पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले जनाए । ‘हामीले ठेक्का लिने पक्षलाई खोजी गरिरहेका छौं, तर सम्पर्कमा आएको छैन ।
ठेकेदार पक्षले तत्काल काम सम्पन्न गर्नुपर्छ ।’– राईले भने ।जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय विराटनगरका प्रमुख डाक्टर शिवनारायण साहले ठेकदारको लापरबाहीका कारण वाँध निर्माणमा समस्या भएको र अव आउने वाढी वस्तीमा पस्ने डर रहेको जनाए । उनले भने ‘सम्झौता अनुसारको वाँकी काम गर्न पटक पटक ताकेता गर्दापनि ठेकेदार कम्पनीले अटेर गर्दै आएर सम्पर्कविहीन बन्यो ।’
गत वर्षको असार ७ गते भत्काएको वाँध गाउँलेले सामान्य रुपमा बाँधेपनि साउन ८ गते पुन भत्काएर ठूलो क्षति पुर्याएको थियो । वाढीले १ हजार विघा खेती योग्य जमिनलाई बालुवामा परिणत गर्नुका साथै तिनहजार भन्दा वढी घरमा क्षति पुर्याएको थियो । वढीको भेल गाउमा पसेपछि ३ सय बढी परिवार विस्थापित र १ हजार परिवार प्रभावित बनेको थियो ।