तेह्रथुम/ आर्थिक वर्ष ०७३–७४ मा तेह्रथुमका विभिन्न कार्यालयबाट काम हुन नसकी ५३ करोड भन्दा बढी रकम फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय तेह्रथुमका अनुसार चालु र पूजिगत तर्फ गरि ५३ करोड ८० लाख ८ हजार १ सय २८ रुपैयाँ फ्रिज भएको हो । जिल्लामा सबैभन्दा बढी सिचाई विकास डिभिजनको २ करोड ३६ लाख ७० हजार रुपैयाँ बजेट फिर्ता भएको छ ।

यसै गरि जिल्ला समन्वयन समिति, जिल्ला प्राविधिक कार्यालय, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला स्वास्थ्य र जिल्ला वन कार्यालयको केही बजेट फ्रिज भएको छ । ठूला विकासे कार्यालयहरुले समयमा बजेट खर्च गर्न नसक्दा कुल बजेटको ४३ प्रतिशतभन्दा बढी रकम फिर्ता भएको छ ।

जिल्लाको कुल बजेट २ अर्ब ९२ करोड ६६ लाख ३६ हजार ३ सय रहेकोमा २ अर्ब ३८ करोड ४६ लाख २५ हजार १ सय ७१ रुपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक मनोज कुमार सुनुवारले जानकारी दिए । चालु तर्फ तर्फ २ अर्ब ३८ करोड ११ लाख ७८ हजार ९ सय विनियोजन भएकोमा १ अर्ब ९९ करोड ५१ लाख ३८ हजार ८ सय ९० रुपैयाँ मात्र खर्च भएको छ ।

पूजिगत तर्फ ५४ करोड २९ लाख ९६ हजार रुपैयाँ बजेट छुट्याइएकोमा ३९ करोड ६७ लाख ६९ हजार रुपैयाँ खर्च भएको छ । जसमा पूजिगत तर्फ १४ करोड ६२ लाख २३ हजार ७ सय १३ रुपैया फ्रिज भएको नियन्त्रक सुनुवारले बताए । पूजिगत गर्फ ७३ प्रतिशत रकम खर्च भएको र २६ प्रतिशत फ्रिज भएको छ भने चालु खर्च तर्फ ८४ प्रतिशत रकम खर्च भएको र १६ प्रतिशत फ्रिज भएको कोलेनिकाले जनाएको छ ।

मन्त्रालयबाट समयमा बजेट नआउनु, ठेकेदार र उपभोक्ताले समयमा काम नगर्नु, उपभोक्ता समितिमा झगडा गरेर सम्झौता ढिलो गर्नु, कार्यालय प्रमुख र लेखापालको सरुवा, कार्यालय प्रमुखहरु जिल्ला भन्दा बढी मन्त्रालय बस्नु कारणले गर्दा समयमा काम नभई रकम फ्रिज हुने गरेको सभाषद भवानी खापुङ्गले बताए ।