भद्रपुर/ नगरपालिकाका जनप्रतिनिधिहरुले सिंहदरबारको अधिकार गाउँमा प्रदान गरिएको बताइए पनि स्थानीय तहमा आइनसकेको गुनासो गरे । संवाद समूह झापाले आइतबार भद्रपुर नगरपालिकाको कार्यालयमा गरेको छलफलमा सहभागी जनप्रतिनिधिले त्यस्तो गुनासो गरेका हुन् ।जनअपेक्षा अनुसार काम गर्न कानूनी जटिलता र पर्याप्त स्रोतसाधनको अभाव रहेको समेत उनिहरुले बताएका छन् ।
विज्ञहरुको संलग्नतामा गुरुयोजना तयार गरि भद्रपुरलाई औद्योगिक र व्यापारिक नगरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए । जनप्रतिनिधिले भद्रपुरमा जनअपेक्षा अनुसार विकास गर्ने र परिवर्तनको अनुभूति दिलाउने गरी काम थालेको समेत उनले बताएका छन् ।
तर, भद्रपुरका अधिकांश वडाको कार्यालय छैन । वडा नं. २, ४, ७ र १० मा प्रहरी पोष्ट छैन । वडा नं. २, ४ र ७ मा स्वास्थ्यचौकी छैन । वडा नं. ३ र ४ को एक घरमा पनि खानेपानीको सुविधा छैन । कर्मचारीको उत्तिकै अभाव छ । अहिले जनप्रतिनिधिहरु नगरपालिकाको पुरानो कार्यालय र संयुक्त वडा कार्यालयमा काम गरिरहेका छन् ।
नगर प्रमुख श्रेष्ठका अनुसार दशवटै वडामा जग्गा व्यवस्थापन गरी एकै डिजाइनका सुविधासम्पन्न कार्यालय बनाउने तयारी भइरहेको बताए प्रमुख श्रेष्ठले ५० मिटर चौडाको रिंगरोड निर्माण, सडक, ढल, खानेपानी, विद्युत्, टेलिफोनको बिस्तार एकीकृत योजना अनुसार एकैपटक सञ्चालन गरिने समेत बताए । भद्रपुरलाई तरकारी, मासु, दूधमा आत्मनिर्भर बनाइ विषादिमुक्त नगरको रुपमा अघि बढाउने योजना समेत रहेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
भद्रपुरस्थित मेची रंगशाला, विमानस्थल, मेची क्याम्पस, मेची अञ्चल हस्पिटललाई आधुनिक र सुविधासम्पन्न तथा गुणस्तरीय सेवा प्रवाह गर्ने अवस्थामा पुर्याउने उनले बताए । त्यस्तै मेची पुल निर्माणलाई छिटो सम्पन्न गराउन खबरदारी गर्ने बताएका छन् । नगरबासीलाई परिवर्तनको अनुभूति हुनेगरी सामाजिक सुरक्षाभत्ता टोलमै पुर्याउने, सडकको खाल्डा पुर्ने काम लगायत शुरु भइसकेको श्रेष्ठले बताए । उनले भद्रपुरमा व्यवस्थित भन्सारको आवश्यकता समेत औल्याए ।
उपप्रमुख चन्द्रमाया श्रेष्ठले जनताको घरदैलोमा सिंहदरबारको अधिकार लैजान कानूनको अभाव भएको बताइन् । स्थानीय तहलाई दिएको २२ अधिकारलाई आधार मान्दा जनतालाई परिवर्तनको अनुभूति दिलाउन असम्भव रहेको उनले सुनाइन् । भौतिक विकाससँगै मानिसको चेतना र क्षमताको स्तर वृद्धि भयो भने मात्र समाज समृद्ध बन्ने कुरामा जोड दिइन् । पछाडि परेकालाई न्यायको पहुँचमा पुर्याउने, हिंसा पीडितका लागि सुरक्षित आवास निर्माण गर्ने उनले बताइन् ।
भद्रपुरका जनप्रतिनिधिले मेची नदी र देउनीया खोलाको तटबन्द, सुकुम्बासी समस्याको समाधान, ढल निकास, हात्ती आतंक नियन्त्रण, फराकिलो सडक, शैक्षिक गुणस्तर वृद्धि, खानेपानी र स्वास्थ सेवा बिस्तार, विद्युतीकरण जस्ता आवश्यकता औल्याएका छन् । त्यस्तै यहीँ जन्मिहुर्की जीवनको उत्तराद्र्धमा पुगेकाले पनि नागरिकता नपाएको समस्या, गरिबी, सिँचाइ, फोहोर व्यवस्थापनको समस्या समेत उजागर गरेका छन् ।
छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए । छलफलमा उनीहरुले भद्रपुर नगरबासीको भावना अनुसार प्राथमिकताका आधारमा विकास निर्माण तथा सेवालाई छिटो र पारदर्शी बनाउने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रममा जनप्रतिनिधि,नगरपालिकाका कार्यकारी अधिकृत काजमिान राई,इन्जिनीयर योगेन्द्र रञ्जीतकार, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।