शनिश्चरे/ झापाको दमकमा स्थापित कदम थिएटरले नाटक घर निर्माण सहयोगका लागि नाटक ‘मरिचेको चुप्पी’ प्रदर्शन गर्ने भएको छ । थिएटरले आफ्नो पहिलो प्रस्तुतीका रूपमा साउन २२ देखि २६ गतेसम्म गोरखा डिपार्टमेन्टको हलमा टिकटमा प्रदर्शन हुने नाटकको प्राप्त आम्दानीबाट नाटकघर निर्माण गर्ने शनिबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।आख्यानकार उपेन्द्र सुब्बाको कथा ‘मरिचेको चुपी’लाई नविन प्राचिनले नाटकमा रुपान्तरण गरेका छन् भनें त्यसको निर्देशन सिजन दहालको रहेको छ ।
नाटकले, तत्कालीन राज्यसत्ताको एकल प्रभुत्व र त्यसले समाकालीन समाजमा पारेको असरबारे प्रष्ट्याउने छ । नाटकमा ११ जना कलाकारले अभिनय गरेका छन् । ‘मरिचेको चुपी’ हालै इलाममा सम्पन्न राष्ट्रिय नाटक महोत्सव–२०७४ मा पहिलो पटक प्रदर्शन गरिएको हो ।
१२ लाख २० हजार आम्दानी हुने र नाटक प्रदर्शनका लागि ३ लाख ४१ हजार खर्च हुने अनुमान गरिएको थिएटरका सचिव कमन देवानले बताए । नाटक प्रदर्शनबाट प्राप्त हुने आम्दानीको ३० प्रतिशत रकम संस्थागत कोष निर्माणमा र ७० प्रतिशत रकम अस्थायी नाटकघर निर्माणमा खर्च गरिने उनले सुनाए ।
सो थिएटरका लागि दमक नगरपालिकाले दमक–९ मा प्रदान गरेको ३ कठ्ठा जग्गामा नाटकघर, पुस्तकालय र अन्य आवश्यक भौतिक पूर्वाधार निर्माण कार्य गर्ने योजना बनाइएको छ ।