इटहरी/ यातायातमा सिण्डिकेटको घिनलाग्दो अवस्था भोगिरहेको नेपालमा धेरै क्षेत्रमा सिण्डिकेट लागु हुने गरेको छ । मूल्य तथा गुणस्तरमा एकरुपता कायम गर्दै व्यापारलाई स्वच्छ बनाउने भनिएपनि सिण्डिकेट तथा कार्टेलिङले व्यवशायीक स्वतन्त्रतालाई मिचिरहेको छ । हिजोआज सुनसरीमा पानीमा समेत यस्तै कार्टेलिङ हुन थालेको छ । जसलाई लिएर पानी उत्पादकहरु नै आक्रोशित बनेका छन् ।
इटहरी र आसपासका प्रशोधित पानी बिक्री गर्ने पानी उत्पादकहरु मिलेर खोलेको संघले मनपरी गरेको भन्दै संघमै आबद्ध उत्पादकहरु आक्रोशित बनेका हुन् । आफूहरु व्यवशायको हक हित र विकासको लागि संघमा आबद्ध भएपनि संघले पानीमा कोटा सिस्टम लागु गरेपछि आफ्नो लगानी र व्यापार धराशायी हुन थालेको उनीहरुको प्रतिक्रिया छ ।
पानीको कार्टेलिङका कारण ठूला उत्पादकहरु मारमा परेका छन् भने लगभग बन्द भइसकेका उद्योगहरुले पुनः उत्पादन थालेका छन् । सानो परिणाममा उत्पादन गर्ने पानी उद्योगहरुले कोटा प्रणाली लागु गर्दा ठूला उत्पादकहरु मारमा परेका हुन् ।
प्रशोधित पिउने पानी उत्पादक व्यवशायी संघले पानीको मूल्यका साथै कोटासमेत निर्धारण गरेको छ । जसको कारण उत्पादकहरुले आफ्नो उत्पादन परिणामलाई घटाउनु परेको छ । पानी उत्पादकहरुले फर्मको बजार अवस्था हेरेर कोटा निर्धारण गरेका छन् । कोटाबाट धेरै उत्पादन गर्नेले पनि उत्पादन घटाउनुपरेको छ भने दिनमा मुस्किलले १०–१५ कार्टुन पानी बेच्ने उत्पादकहरुको पानी डेढ सय कार्टुन बिक्रि भइरहेकोले राम्रो आम्दानी गरेका छन् ।
अहिले प्रत्येक फर्मले दैनिक डेढसय कार्टुनको हाराहारी पानी बेच्न पाउँछन् । यसअघि दैनिक १५ सय कार्टुनसम्म उत्पादन गर्नेहरु अहिले डेढ सय कार्टुन बेच्न बाध्य छन् । ‘हामी संघको पक्षमा छौं, तर कार्टेलिङको विपक्षमा छौं,’ एक पानी उत्पादकले भने, ‘यति बेच्न पाउने, उति बेच्न पाउने भनेर संख्या निर्धारण संघले गर्नुहुँदैन ।’ शनिबार मात्रै पनि इटहरी बजारमा वितरण भइसकेको उपहार ब्राण्डको पानी संघले हस्तक्षेप गरी उठाइदिएको थियो ।
कोटा निर्धारण गरेर पानी बिक्रि वितरण गर्नको लागि व्यवशायीहरुले सीता सप्लायर्स नाम गरेको फर्म खडा गरेका छन् । अहिले संघमा सुनसरीका १६ र मोरंगका दुई गरेर १८ वटा फर्महरु आबद्ध छन् । यस्तै पानी उत्पादकहरुले बजारमा बाहिरका फर्मलाई बिक्रि वितरणमा निषेधसमेत गरेका छन् ।
संघका अध्यक्ष डिकबहादुर घिमिरेले स्वच्छ प्रतिष्पर्धाका लागि क्षमता र कारोबारका आधारमा संख्या निर्धारण गरिएको बताए । उनले आफूहरुले पानीको बिग्रेको बजारलाई एकरुपता ल्याएर बनाएको बताउँदै भने, ‘पहिले प्रति कार्टुन ९० रुपैयामा पनि व्यवशायीले बेचे, अहिले कम्तिमा १२० रुपैया पाइरहेका छन् ।’
न्यूजलयबाट