दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तह निर्वाचनकोे बुधबार बिहान ९ः०० बजेसम्म ३०३ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार, हाल १० जिल्लाका २८ स्थानीय तहको मतगणना कार्य जारी छ भने ३ स्थानीय तहमा स्थगित भएको मतगणना कार्य सुचारु गर्ने प्रयास भइरहेको छ।
हालसम्म २५ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ। मतगणना कार्य सम्पन्न भएका जिल्लामा प्रदेश नम्बर १ मा इलाम, ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा र सोलुखुम्बु छन्।
यसैगरी, प्रदेश नम्बर ५ मा अर्घाखाँची, गुल्मी, नवलपरासी, पाल्पा, प्यूठान, बर्दिया, रोल्पा, रुकुम छन् भने प्रदेश नम्बर ७ मा अछाम, डडेलधुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भइसकेको भएको छ।
मत गणना जारी रहेका १० जिल्लामा प्रदेश नम्बर १ मा उदयपुर, झापा, मोरङ, सुनसरी, प्रदेश नम्बर ५ मा कपिलवस्तु, रुपन्देही, दाङ, बाँके र प्रदेश नम्बर ७ मा कञ्चनपुर तथा कैलाली बाँकी रहेको आयोगले जनाएको छ।