धरान । सुनसरीको एक नगरपालिका र दुई गाउपालिकाको मत परिणाम सार्वजनिक भएको छ । दुहवी नगरपालिका, वर्जु र भोक्राहा गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको हो । जसमा फोरम लोकतान्त्रिकले दुहवी र बर्जु गाउपालिकामा जित निकालेको छ । त्यस्तै भोक्राहामा संघीय समाजवादी फोरमले जितेको छ । सुनसरीको दुहवी नगरपालिकामा लोकतान्त्रिक फोरमका मेयर र उपमेयरले नै जित हात पारेको छ । जसमा फोरम लोकतान्त्रिकका बेदनारायण गच्छदारले ७४२० मत ल्याउँदै विजयी बनेका हुन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका गौरीसंकर रौनियारलाई २ हजार मत अन्तरले जितेका हुन् । त्यसतै उपप्रमुखमा ६६८३ मत प्राप्त गर्दै लोकतान्त्रिककै सुनिता दाहाल विजयी बनेकी हुन् । त्यस्तै बर्जु गाउँपालिकामा लोकतान्त्रिककै रघुनन्दन चौधरीले ४७३४ मत ल्याउँदै विजयी बनेका छन् । उपप्रमुखमा४६२२ मत ल्याउँदै संगीताकुमारी राय विजयी बनिन् । चौधरीले एमालेका फनिलाल चौधरीलाई एक हजार मतान्तरले जित निकालेका हुन् । भोक्राहा गाउँपालिकामाा संघीय समाजवादी फोरमका प्रमुख महेन्द्रप्रसाद यादवले ३५२८ मत प्राप्त गर्दै विजयी बने । उपप्रमुखमा संघीयकै पुनमकुमारी मेहताले ३०२९ मत प्राप्त गर्दै विजयी भइन् । त्यसैगरी रामधुनी र इनरुवा नगरपालिका, हरिनगरा र देवानगञ्जको सोमबार साँझसम्म मतपरिणाम आइसक्ने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए । सुनसरीमा २ उपमहानगर, ४ नगर र ६ गाउँपालिका रहेका छन् ।