रामेछाप/ रामेछापकी सुनिता (नाम परिवर्तन) वैदेशिक रोजगारीको सिलसिलामा २०७१ साल माघमा कुवेत गइन् । रोजगारीमा जाँदा विभिन्न सपना सङ्गालेकी उनलाई रोजगारीमा गएपछिका दिन भने सोँचेजस्ता भएनन् । श्रीमान्ले छोडेपछि माइतीमा बस्दैआएकी उनी राजधानी काठमाडौँमा रोजगारको खोजीमा आइपुगेकी थिइन् । काठमाडौँमा रोजगारीकै क्रममा साथीभाइको लहलहैमा परेर उनी ‘हाउसमेड’ अर्थात घरेलु कामदारको रुपमा कुवेत गइन् । कुवेत पुगेपछि मालिकको घरको सम्पूर्ण काम गर्नुपर्ने उनको दायित्व थियो । बिरानो ठाउँ, साँझबिहान नभनी जतिखेर पनि काम गर्नुपर्ने, भाषा पनि नबुझिने समस्याले उनलाई सताउन थाल्यो । सोही क्रममा गएको दुई महिनापछि उनलाई कडा मानसिक समस्या देखा प¥यो । त्यसपछि उनी काम गर्ने घरको मालिकले केही समय औषधि उपचार गरे तर निको नभएपछि उनलाई नेपाल फर्काइयो । नेपाल फर्कदा उनको अवस्था धेरै नै खराब भइसकेको थियो । फर्किएपछि रामेछापको सदरमुकाम मन्थलीमा रहेको अस्पतालमा नियमित उपचारपछि उनको स्वास्थ्यमा क्रमश सुधार आउन थाल्यो । अहिले उनको अवस्था पहिले झै सामान्य छ । घरका दैनिक कामकाज गर्ने, खेती किसानीदेखि गाईबस्तुको रेखदेखसम्मको काम उनले गरिरहेकी छिन् ।