शनिश्चरे/नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्यालहरुको मोर्चाबन्दीले हात्तीको शिकार गर्न नसक्ने उखान जोड्दै एमालेलाई देशैभरी जनलहर सिर्जना गर्नबाट कसैले केहीगरी रोक्न नसक्ने बताएका छन् ।शनिबार मोरङको उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ र बेलबारीमा एमालेको चुनावी आमसभामा बोल्दै देशैभरी एमालेको जनलहर बढेको र पहिलो चरणमा भन्दा अझ बढी जीत हाँसिल हुने बताएका हुन् । ५ दिनदेखि आफ्नो गृहनगर झापाको चुवावी सभामा सहभागि भई मोरङ, सुनसरी हुँदै काठमाडौं फर्किने क्रममा पथरीशनिश्चरेको कार्यक्रमा बोल्दै उनले भने– ‘स्यालहरुले जतिसुकै मोर्चाबन्दी गरेपनि हात्तीको शिकार गर्नै सक्दैन । यसकारण दोस्रो चरणको निर्वाचनमा अझ बढी स्थानमा जीत हाँसिल गर्नेछौं ।’उनले एमालेको राष्ट्यिताप्रतिको अडान तथा जनता र मुलुकको समृद्धिको योजनाले सवै ठाउँमा एमालेप्रति देशैभरी जनलहर बढेको दावी गरे । जसअनुरुप दमक, उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ, बेलबारी सहितका सयौं ठाउँमा एमालेको जीत भइसकेको र मात्र परिणाम सुन्न मात्र बाँकी रहेको भन्दै मतदातालाई उत्साहित बनाएका छन् । देशको समृद्धिका लागि अरु कुनै दलसँग योजना नरहेको र एमालेले ल्याएको योजना चिठ चोरेसरह पछि पछि अरुले चोर्ने गरेको उल्लेख गरे । एमालेको लहर देखेर अरु तर्सिएको प्रसंग अघि सार्दै उनले थपे –‘ कांग्रेसका केही नेताले एमालेले किन राष्ट्यि झण्डा बोक्यो, किन विकास गर्यो भनेर भन्दै हिँडेका छन् । हामी उनीहरु जस्तो पद र पैसाका लागि राजनीति गरेको नभई जनता र मुलुकको समृद्धिमा लागि परेका हौं भन्ने कुरा जनताले प्रष्ट बुझिसकेका छन् ।’ रमाइलो शैलीमा गायत्री मन्त्रको व्याख्या गर्दै जगत झलमल्ल पार्ने सूर्यको गहनतालाई बुझेर सूर्यलाई एमालेको चुनाव चिन्हका रुपमा लिएको बताएका छन् । उर्लाबारीमा, एमाले केन्द्रीय सदस्य हिक्मत कार्की, डाक्टर शिवमाया तुम्बाहाम्फे, सल्लाहकार सदस्य घनश्याम खतिवडा, नगर प्रमुखका उम्मेदवार भूपाल जिमी, पथरीशनिश्चरेमा नगर प्रमुखका उम्मेदवार दिलिपकुमार राई (किशोर) लगायतले बोलेका छन् । हजारौं मानिसहरु उत्साहपूर्वक उपस्थित ती ठाउँका आमसभामा विभिन्न पार्टी परित्याग गरी सयौं मानिस एमालेमा प्रवेश गरेका छन् । नाचगान सहितका सभामा उर्लाबारीमा ५ सय जना, पथरीशनिश्चरेमा ५३ जना एमालेमा प्रवेश गरेको पार्टीले जनाएको छ । सभामा गायक अश्विन घिमिरे र वीरध्वज शिवाले एमालेको पक्षका गीत प्रस्तुत गरेका थिए ।