धरान/जनसरोकार मञ्च नेपालका अध्यक्ष कृष्णनारायण पलिखेले धरानलाई भ्रष्टचारमुक्त नगरको रुपमा विकास गर्न स्वतन्त्र पदमा संस्थाबाट चारजनाले उम्मेदवारी दिएको बताएका छन् । बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै मेयर, उपमेयर, वडा अध्यक्षमा धरान–११ र १८ बाट उम्मेदवारी दिएको बताएका छन् । मेयरबाट पलिखे आफै छन् भने उपमेयरमा तुलसा गुरुङ रहेकी छन् । त्यस्तै ११ बाट वडा अध्यक्षमा भक्तसिंह राजपुत क्षेत्री, र १८ बाट वडा अध्यक्षमा हस्तराज लिम्बूले उम्मेदवारी दिएका हुन् । उनीहरुले धरान नगरलाई भ्रष्टचारमुक्त बनाउँदै धरानको सर्दुजलाधार क्षेत्रको संरक्षणसँगै धरानलाई सुन्दर नगर बनाउने उद्देश्य रहेको बताएका छन् । ‘हाम्रो उद्देश्य धरानलाई भ्रष्टचारमुक्त बनाउने हो ।’ पलिखेले भने, ‘त्यस्तै जलाधारलाई संरक्षण गर्छाैं ।’ मेयरका उम्मेदवार पलिखेले धरानमा आफू उमपेयर हुँदा भएका भ्रष्टचारहरुको पर्दाफास गर्नु पनि आफ्नो उद्देश्य रहेको बताए । उनले त्यससम्बन्धी केही कागजातसमेत पेश गरेका छन् । उनीहरुले आफूहरु अल्पमतमा परे पनि आफूहरुले उठाएको मुद्दामा सदैव लागिरहने बताएका छन् । उपमेयरकी उम्मेदवार गुरुङले पनि धरानका सोझा, सिधा जनता कतिन्जेलसम्म अन्याय सहिरहने त्यसको पर्दाफासको लागि आफ्नो उम्मेदवारी रहेको बताइन् ।