धरान/कांग्रेस र एमालेको १ र ८ मा बागी उम्मेदवार उठेका छन् । कांग्रेसबाट १ नम्बर वडामा वडाअध्यक्षमा व्यापारी पवनकुमार अग्रवाल र एमालेबाट ८ बाट प्रर्मिला लिङ्देनले स्वतन्त्रबाट मनोनयन गराएका छन् । उनीहरुले मङ्गलबार चुनाव चिन्हसमेत प्राप्त गरेका छन् । व्यापारी अग्रवालले आफूले कांग्रेसको बागी उम्मेदवार नभएको बताए । ‘मैले स्वतन्त्रबाट दिएको छु ।’ उनले भने, ‘व्यापारी, व्यवसायीको हितको लागि मेरो उम्मेदवारी हो ।’ पार्टीसँग केही समय छलफलसमेत चलेको थियो । तर, पार्टीले उनलाई कुनै सुनुवाई नगरेपछि उनी स्वतन्त्रबाट लड्न लागेका हुन् । तर, कांग्रेसले १ नम्बरबाट रोशन अधिकारीको नाम अघि सारेको छ । यता प्रमिला भने एमालेबाट असन्तुष्ट बनेकै कारणले उम्मेदवारी दिएकी हुन् । पार्टी पंक्तिको शैली र व्यवहारको तिब्र विरोध गर्दै उनले आफ्नो नाम मनोनयन गराएकी छन् । पार्टीका केही कार्यकर्ताहरु आएर उनलाई नाम फिर्ता लिनका लागि भनेका थिए । तर, उनले आफूले उम्मेदवारी दिइसकेकाले फिर्ता नलिने दाबी गरेकी छन् । ब्लाष्टकर्मीसँगको भेटमा उनले भनिन्, ‘पार्टीका तल्ला तहका नेता कार्यकर्ताहरुको शैली ठिक भएन् । त्यसविरुद्ध मेरो उम्मेदवारी हो ।’ उनी पूर्व मेयर मनोजकुमार मेन्याङ्बोका पहिलो पत्नीसमेत हुन् । एमालेले रुद्र लिम्बूलाई वडा अध्यक्षमा उठाएको छ । लिम्बू यस अघिको स्थानीय निकायको चुनावमा वडा अध्यक्षमा तीनपटक भिडिसकेका व्यक्ति हुन् । बागी उम्मेदवारको कारणले एमालेलाई केही धक्का लाग्ने अनुमान कार्यकर्ताहरुले गर्न थालेका छन् ।