धरान/सर्वोच्च अदालतले भरतपुरमा च्यातिएका मतपत्र, निर्वाचन आयोगको निर्णयको सक्कल प्रति एकसाताभित्र पेश गर्न आदेश जारी गरेको छ ।कामु प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली र हरिकृष्ण कार्कीको इजलासले यस्तो आदेश गरेको हो । त्यसैगरी आदेशमा मतपत्र च्यात्ने माओवादी कार्यकर्ताको मुद्दाको फाइल पनि पेश गर्न भनिएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोही वडाका एमालेका स्थानीय नेता गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए । रिट निवेदकका तर्फबाट शम्भु थापा, टिकाराम भट्टराई लगायतले बहस गरेका थिए । निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने गरि गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । निर्वाचन आयोगको निर्णय गैर संवैधानिक, पूर्वाग्रहपूर्ण रहेको उल्लेख गर्दै रिट दायर गरिएको थियो । हुँदै नभएको तथ्यलाई तोडमोड गरी सत्तापक्षका उमेदवार जिताउने योजना रहेको पनि उल्लेख गरिएको थियो । मतपत्र च्यातिएको करिब एकसातापछि निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतगणना गराउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो । ९० वटा मतपत्र च्यातिएका थिए मतपत्र  भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा ९० वटा मतपत्र च्यातिएको पाइएको छ । निर्वाचन आयोगको निर्देशनअनुसार जिल्ला निर्वाचन अधिकृतको कार्यालयले विभिन्न राजनीतिक दलका नेता, उमेदवार, सुरक्षा समितिको रोहबरमा च्यातिएका मतपत्र गणना गर्दा बिहीबार ९० वटा मत गन्नै नमिल्नेगरी च्यातिएको पाइएको छ । तर नेकपा एमालेले त्यसमा केही मत गन्न सकिने अवस्थाको रहेको हुँदा धेरै विवाद नगर्न आग्रह गरेको थियो । भरतपुर वडा नम्बर १९ मा जम्मा २८९७ मत खसेको थियो भने १८०९ मत गणना भएको थियो । त्यति मत गणना हुँदासम्म नेकपा एमालेका उमेदवार ज्ञवाली माओवादी केन्द्रकी उमेदवार रेणु दाहाल भन्दा ७३३ मतले अघि थिए । अब वडा नम्बर १९ मा ९९८ मत गन्न बाँकी रहेको छ । यसैबीच मतपत्र च्यात्ने दुई माओवादी कार्यकर्ता एक एक लाख धरौटीमा रिहा भइसकेका छन् । अदालतको आदेशमा माओवादी केन्द्रका नेताहरु मधु न्यौपाने र द्रोण शिवाकोटीलाई रिहा गरिएको हो ।

कसरी च्यातिएको थियो मतपत्र ? स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मत गणना भइरहेको समयमा मध्यरातमा मतपत्र च्यातिएको थियो । मतगणना भइरहेको समयमा राति ११ बजेर ४४ मिनेट जाँदा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरेको थियो । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू शौचालय गएर फर्कदै गर्दा मतपत्र च्यातिएको र त्यसपछि विवाद बढेको भन्दै अनिश्चितकालका लागि गणना स्थगित गरिएको जानकारी गराएका थिए  । त्यसबेला उनले करिब एकसय जति मतपत्र च्यातिएको जानकारी निर्वाचन आयोगलाई दिएका थिए ।बाह्खरीबाट