धरान/सरकारले रक्तपात रोक्न २ नम्बर प्रदेशमा चुनाव स्थगित गरेको जनाएको छ ।  मन्त्रिपरिषदको बैठकले दुई नम्बर प्रदेशमा असोज २ गतेका लागि अर्को मिति तोकेको छ । त्यस्तै असार १४ गते निर्वाचन हुने १, ५, ७ तीन प्रदेशमा असार ४ गतेका लागि उमेदवारी दर्ता गर्न निर्वाचन आयोगलाई प्रस्ताव गरेको छ ।

 बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले दुई नम्बर प्रदेशमा रक्तपात रोक्न निर्वाचन स्थगित गरेर अर्को मिति तोक्नुपरेको उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले जानकारी दिए । दुई नम्बर प्रदेशमा निर्वाचन पर सार्न विपक्षी दल एमालेको पनि समर्थन रहेको उनको भनाइ थियो ।

त्यस्तै उनले आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन तीन प्रदेशमा मनोनयन मिति सारिएको स्पष्ट पारे । यसैबीच दुई नम्बर प्रदेशमा चुनाव सार्न निर्वाचन आयोग असहमत रहेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको अवस्थामा निर्वाचन सार्दा आयोग असन्तुष्ट देखिएको हो ।