वेस्ट लण्डनको ल्याटिमेर रोडस्थित टावर ब्लकमा भीषण आगलागी भएको र त्यहाँभित्र मानिसहरु थुनिएको प्रत्यक्षदर्शीले बताएका छन्। ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी शुरु भएको थियो। झण्डै २०० सय अग्नि नियन्त्रकले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। बीबीसी संवाददाता एण्डी मूरका अनुसार पूरै भवन जलिरहेको छ र भवन लड्न सक्ने देखिन्छ। अर्का प्रत्यक्षदर्शी टिम डाउनीले भवनको एउटा हिस्सा पूर्ण रुपमा जलेको बीबीसीलाई बताए। उनले भने, 'भवनको भित्री भागसम्म आगो फैलिएको छ।' उनले पूरै भवन नै हल्लिरहेको बताए।