पाकिस्तानको महमूदाबादमा रहेका हिन्दूहरूलाई ठाउँ छोडेर अन्तै जानका लागि प्रभावशाली स्थानीयहरूले दबाब दिइरहेका छन् । बस्ती गुरु बाग नामक स्थानमा सयभन्दा बढी हिन्दू परिवार बसोवास गर्छन् र यो ठाउँ बलोच कोलोनी प्रहरी चौकी अन्तर्गत पर्छ । शुरुमा घोट्की जिल्लामा बस्ने हिन्दू निवासीहरू सन् १९६० को दशकदेअि बस्ती गुरु बागमा बस्न थालेका हुन् । तर मुसलमान धर्मगुरुको सहायतामा प्रभावशाली स्थानीयहरूले उनीहरूलाई बस्ती खाली गर्नका लागि दबाब दिइरहेको उनीहरू बताउँछन् । ‘विगत केही महिनादेखि हामीहरू खतरामा परेका छौं । हाम्रो घरको बिजुली र पानी समेत हालै काटिएको छ,’ महिला सामुदायिक नेत्री शिवा धर्नीले भनिन् । ‘जमीन हडप्न खोज्नेहरूले हाम्रो बस्तीमा प्लटिङ गर्न खोजेका छन् । हामीहरूलाई जबर्जस्ती निकलेर उनीहरू यो जमीन बेच्न चाहन्छन् र निकाल्नका लागि उनीहरू कुनै पनि हद पार गर्न तयार छन् ।’ जमीन हडप्नेहरूले मुसलमान धर्मगुरुलाई भड्काएर हिन्दू निवासीहरूमाथि धर्मनिन्दाको संगीन आरोप लगाउनका लागि प्रयत्न गरिरहेको उनीहरू बताउँछन् । यो बस्तीमा साना काठका झुप्राहरू अनि अर्धपक्की घरहरू छन् । यहाँ गरीब हिन्दू परिवारलाई आवासको व्यवस्था गरिएको छ । विगत केही वर्षयता यहाँ दुईचोटि थुप्रै घरमा रहस्यमय तरिकाले आगो लगाइएको थियो । बस्ती गुरु बागमा एउटा मन्दिर पनि छ र त्यहाँ एक गैरसरकारी संस्थाले बस्तीका बालबालिकाका लागि विद्यालय सञ्चालन गर्ने गरेको छ । एजेन्सी