विराटनगर/नेकपा एमालेले मोरङको ८ स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।
एमालेले तीन नगरपालिका र ५ गाउँपालिका प्रमुख-उपप्रमुखको उम्मेदवार टुगो लगाएको हो । यधपी सो पार्टीले औपचारिक रुपमा उम्मेदवारहरुको घोषणा गर्न भने बाँकी छ ।
स्थानीय तह एव जिल्ला कमिटीवाट उनीहरुको नाम सर्वसम्मतिबाट टुङयाइएको हो ।
मोरङ जिल्लामा एक महानगरपालिका, ८ नगरपालिका एवम् ८ गाउँपालिका सहित १७ स्थानीय तह छ ।
विराटनगर महानगरपालिका र अन्य ५ नगरपालिका र ४ गाउँपालिकाको प्रमुख र उपप्रमुखको पनि केही दिनभित्रै उम्मेदवार टुंगो लाग्ने एमाले मोरङ जिल्ला अध्यक्ष विनोद ढकालले जानकारी दिए ।
को-को छानिए उम्मेदवार ?
राष्ट्रपति बिद्यादेबी भण्डारीकी देवरानी लक्ष्मी भण्डारी चुनावी मैदानमा होमिएकी छन् । उनी नेकपा एमालेको तर्फवाट उर्लाबारी नगरपालिकाको उप-मेयरको उम्मेद्वारसहित चुनावी प्रतिस्पर्धामा उत्रिएकी छन् । एमालेले उर्लावारी नगरपालिकाको उपमेयरको उम्मेदवारको रुपमा भण्डारीलाई तय गरेको छ । उर्लाबारी-७ निवासी भण्डारी नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।
जननेता मदन भण्डारीका साहिला भाइ मोहन भण्डारीकी पत्नी लक्ष्मी भण्डारी उर्लाबारी क्षेत्रकी सामाजिक कार्यकर्ताको रुपमा पनि परिचित छन् । भण्डारीलाई उप-मेयरको उम्मेदवार बनाएको एमालेले भूपालसिंह जिमीलाई मेयरको उम्मेद्वार बनाएको छ ।
नेकपा एमालेका एक नम्वर प्रदेश सदस्य महेश रेग्मीका अनुसार रंगेली नगरपालिकाको मेयरमा सन्तोष साह र उपमेयरमा उषा ठाकुरलाई वनाउने निर्णय भएको छ ।
सुनवषर्ी नगरपालिकाको मेयरमा हसन इमाम बक्स एवम् उपमेयरमा मीरादेवी दास उम्मेदवार वनाइएको छ ।
त्यसैगरी कानेपोखरी गाउपालिकाको प्रमुखमा तारावहादुर काफ्ले र उपप्रमुखमा राजकुमारी ईङ्नाम उम्मेदवार वनाउने निर्णय भएको छ । यता धनपालथान गाउपालिकाको प्रमुखमा मुसहरु मन्डल र उपप्रमुखमा उपासी राजबंशीलाई उम्मेदवार वनाइएको छ ।
त्यस्तै ग्रामथान गाउँपालिकाको प्रमुखमा शिवनारायण माझी र उप्रमुखमा गुणावती धामीलाई उम्मेदवार वनाउने निर्णय भएको छ । कटहरी गाउँपालिकाको प्रमुखमा मुक्ती राजवंशी र उप्रमुखमा सुनिता सरदारलाई उम्मेदवार वनाउने निर्णय एमाले पार्टीले गरेको छ ।
जिल्लाको ठूलो गाउँपालिका केरावारीको प्रमुखमा नवीन थापामगर र उपप्रमुख शान्ती लिम्बूलाई वनाउने निर्णय गरेको छ ।