धरान/इटहरीबाट बिना कारण जिल्ला सदस्य मोहन कार्कीलाई पक्राउ गरेको भन्दै नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीले अबिलम्ब रिहा गर्न माग गरेको छ । माओवादीका सुनसरी जिल्ला इन्चार्ज प्रज्वलद्वारा मंगलबार हस्ताक्षरित विज्ञप्तिमा बिना कारण प्रचण्ड सरकारले धरपकड र गिरफ्तारी गरिरहेकोप्रति भत्र्सना गरेको छ । अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय सदस्य तथा संघका जिल्ला अध्यक्षसमेत रहेका कार्कीलाई अबिलम्ब रिहा गर्न माग गरेको हो । यस अघि बैसाख २९ गते बराहक्षेत्रबाट पक्राउ गरिएका जिल्ला सचिव उदय राई युगेनलगायतका कार्यकर्ताहरुलाई झुटा मुद्दा लगाएर हिरासतमा राखेको भन्दै विना शर्त रिहा गर्न माग गरेको छ । पक्राउ परेका सबै नेताहरुलाई तत्काल छाड्न विज्ञप्तिमार्फत् माग गरेको हो । अन्यथा संर्घषमा जान बाध्य हुने र त्यसको परिणामको जिम्मेवारी वर्तमान सरकारले लिनु पर्ने विज्ञप्तिमा उल्लेख छ । विप्लव माओवादीले स्थानीय तहको खारेजीको माग गर्दै ‘एकीकृत जनजागरण तथा प्रतिरोध अभियान’ जारी राखेको छ । जस अन्तर्गत सरकारले चुनावलाई लक्षित गर्दै विप्लव माओवादीका कार्यकर्ताहरुलाई पक्राउ गरिरहेको छ ।