काठमाडौँ /स्थानीय तहको संख्या थपको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्को कारवाही अघि बढ्न नदिने अडान कामयै राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा रोकिएको छ। संसदबाटै राजीनामा घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले संसद् अवरुद्ध भएपछि सम्वोधन र राजीनामा दुवै प्रक्रिया अघि बढाउन पाएका छैनन्।
यसअघिको सहमति विपरित स्थानीय तहको संख्या थप गरेको भन्दै एमालेले सदन अवरुद्धको चेतावनी दिएको हो। सदन अवरुद्धको चेतावनी दिएपछि तीन पटकसम्म बैठक स्थगित गरेर सहमतिको प्रयास भए पनि निश्कर्षमा पुग्न सकेन। दलहरुबीचको छलफलबाट कुनै निश्कर्षमा निस्कन नसकेपछि साँझ ५ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर संसद् बैठक स्थगित गरिएको हो।
एमालेले संख्या फिर्तालाई संसद् सुचारुको बटमलाइन बनाएको छ। तर, सत्तारुढ दलहरुले भने सदन अवरुद्ध गरेर प्रतिपक्षले प्रधानमन्त्रीको राजीनामा रोकेको आरोप लगाएका छन्।
अवरुद्ध सदन सुचारुको विषयमा छलफल गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ। ९ बजे नै बैठक बस्ने भनिए पनि छलफल सुरु भएको छैन। शीर्ष नेताबीचमा भएको सहमति अनुसार सदनको प्रक्रिया निर्धारित हुनेछ।
राजनीतिक दलको परामर्शका आधारमा संसद बैठकको समय तोकिएको छ। संसद् बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ।