धरान/दैलेखको दुल्लु नगरपालिकामा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ परेका चारमध्ये एकजना नेपाली सेनाका जवान रहेको पुष्टी भएको छ । नगरपालिकाको ७ नम्बर वडामा एमाले बिजयी भएपछि एमाले कार्यकर्ताले बिजय जुलुस निकाल्दा विवाद भएको थियो ।   जुलुस सकेर घरमा बसेका एमाले कार्यकर्तामाथि खुकुरी प्रहार गर्दा ७ जना घाइते भएका छन् । खुकुरी प्रहारको नेतृत्व गर्ने प्रेमबहादुर भण्डारी सहित नगेन्द्र भण्डारी, शक्ति सुनार र प्रेम सुनारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये प्रेमबहादुर भण्डारी नेपाली सेनाको रणभैरव गणमा कार्यरत सैनिक रहेको इलाका प्रहरी कार्यालय दुल्लुका इन्सपेक्टर धु्रवकुमार श्रेष्ठले बताए । उनी बुवा बिरामी भन्ने निवेदन दिएर घरबिदामा आएको जानकारी प्रहरीलाई प्राप्त भएको तर उनको बुवाको १० वर्षअघि नै मृत्यु भएको श्रेष्ठले बताए । खुकुरी प्रहारबाट घाइते हुने एमाले कार्यकर्ताहरु तिलक उपाध्याय, भगतलाल बानिया, बालकुमारी योगी, सुर्जा पाण्डे, सतानन्द पाण्डे, फुर्ति पाण्डे, पूर्ण पाण्डेको दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।