धरान/स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरुले धरानको पर्यटन, व्यापार र कृषिमा विशेष जोड दिन एमाले पार्टीलाई व्यापारी व्यवसायीहरुले आग्रह गरेका छन् ।
[caption id="attachment_44819" align="alignnone" width="1200"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
धरानमा बिहीबार एमाले सर्मथित नेपाल राष्ट्रिय बाणिज्य संघ धरान नगरले गरेको ‘धरानको आर्थिक विकास एवम् समृद्धिमा एमालेको भूमिका’ विषयक अन्तरक्रियामा व्यवसायीहरुले तीन कुरामा ध्यान दिन आग्रह गरेका हुन् । होटल व्यवसायी सुवर्ण श्रेष्ठले प्रशासनको कारण होटल व्यवसाय सञ्चालन हुन सक्ने अवस्था नरहेको र अवको जनप्रतिनिधिले त्यस तर्फ ध्यान दिनु पर्ने बताए ।
उनले होटल व्यवसाय विशेष गरेर रातको समयमा चल्ने भएकाले त्यसका लागि आउने प्रतिनिधिहरुले ध्यान दिएमा धरानको व्यवसाय मात्रै हैन, पर्यटन व्यवसायसमेत फष्टाउने बताए । त्यस्तै अर्का व्यवसायी शिशिर शर्माले धरानमा विदेशी पर्यटकहरु भित्रयाउनको लागि विशेष भूमिका खेल्नु पर्ने बताए । उनले यहाँका कृषिजन्य उत्पादनलाई विदेशमा निर्यात गर्नको लागि पनि पहल गर्नु पर्ने बताए ।
कुखुरापालक व्यवसायी ज्ञानेन्द्र बस्नेतले स्थानीय निकायले कुखुरापालन व्यवसायलाई उपेक्षा गरेको बताउँदै अवको जनप्रतिनिधिहरुले त्यस्ता कृषिकर्म गर्ने व्यवसायीहरुलाई पकेट क्षेत्र तोकेर काम गर्न प्रोत्साहित गर्नु पर्ने बताए । त्यस्तै कार्यक्रममा सुन व्यवसायी किशन मास्केले धरानमा घरबहाल कर देशभरको तुलनामा एकदमै महंगो भएकाले त्यसतर्फ अवको निर्वाचित जनप्रतिनिधिले ध्यान दिनु पर्ने बताए ।
अहिले व्यापारहरु खस्किनु र महंगो हुनुको पछाडीको कारण घरबहाल कर नै रहेको उनले बताए । त्यस्तै मजदुर महंगो हुने कारण पनि यहाँको व्यवसाय एकदमै महंगो भएको बताए । कार्यक्रममा एमालेका तर्फबाट जिल्ला उपाध्यक्ष रमेश बस्नेत, जिल्ला सदस्य एवम् नगर इन्चार्ज प्रदीप भण्डारी, मेयरका उम्मेद्वार एवम् नगर अध्यक्ष तारा सुब्बालगायतले यस्ता विषयमा एमालेले गम्भीर भएर सोच्ने बताएका छन् ।
व्यवसायीहरुलाई सहज बनाउनको लागि एमाले निर्वाचित भएको खण्डमा त्यसतर्फ ध्यान दिने बताएका थिए । र, एमालेलाई जिताउनको लागि आग्रहसमेत गरिएको थियो । संघका अध्यक्ष काजी गिरीको सभापतित्वमा भएको कार्यक्रममा एमालेका जिल्ला तथा नगरका कार्यकर्तासँगै व्यवसायी, व्यापारीहरुको उपस्थिति रहेको थियो ।