धरान/२४ औं मदन–आश्रित दिवसमा नेकपा (एमाले) १९ नम्बर वार्ड कमिटीले युवा दौड प्रतियोगिता सम्पन्न गरेको छ ।

युवाहरुलाई लक्षित गर्दै गरिएको प्रतियोगितामा आमोस लिम्बू विजेता बनेका छन् । ९९ जना स्पर्धीलाई पछि पार्दै विजेता बनेका हुन् । उनले नगद ३ हजार रुपैयासहित प्रमाण पत्र पाए । त्यस्तै रोहित लिम्बू दोस्रो हुँदै नगद २ हजार रुपैया प्राप्त गरे भने विनेश राई तेस्रो हुँदै नगद १ हजार रुपैया पाएका छन् ।
प्रतियोगितामा एकसय युवाहरु दौडिएका थिए । धरान–१९ को बालकचौकदेखि सुरु भएको दौड विरेन्द्र चौक, किरात चौक, यलम्बर चौक हुँदै यलम चोकसम्म आइपुगेर टुंगिएको थियो । दौडमा १९ वडाका युवाहरु मात्रै सहभागी बनेका थिए । कार्यक्रमको उद्घाटन एमाले नगर अध्यक्ष तारा सुब्बा र निर्वाचन परिचालक कमिटीका संयोजक प्रकाश राईले संयुक्त रुपमा उद्घाटन गरेको क्षेत्रीय समिति सदस्य पूर्ण लिम्बूले जानकारी दिए ।
प्रतियोगितामा विजेता युवाहरुलाई नगर अध्यक्ष सुब्बालगायत वडा अध्यक्ष हरि तामाङले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता करिव ३ किलोमिटर गराइएको थियो । जननेता मदन भण्डारी र जीवराज आश्रितको पोखराबाट पूर्व आउने क्रममा जेठ ३ गते दासढुंगामा हत्या गरिएको थियो । हत्या अझै रहस्यमय छ ।