काठमाडाैं/द हिडन ट्रेजरले जेठ १९ गते काठमाडौंमा आयोजना गर्ने २२ औं संस्करणको मिस नेपाल–२०१७ को उपाधिका लागि १९ जना युवती मैदानमा छन् । काठमाडौं, ललितपुरसहित बिर्तामोड, विराटनगर, वीरगन्ज, भरतपुर, बुटवल, पाल्पा, पोखरा आदि प्रमुख सहरको प्रतिनिधित्व गर्ने यी सुन्दरीहरू पछिल्ला तीन सातादेखि प्रशिक्षणमा व्यस्त छन् ।
पहिलो दिनको कार्यशालामा सहभागी भएर प्रशिक्षण जुटेका उनीहरूले तीन दिने क्लोज क्याम्प धुलिखेलमा सम्पन्न गरे भने गत साता चारदिने जंगल क्याम्पका लागि सौराहा पुगेर गत सोमबार काठमाडौं फर्किएका छन् । प्रतियोगितामा दुई जना इन्जिनियरसहित पत्रकारिता, नर्सिङ, व्यवस्थापन आदि विषयमा स्नातकोत्तर, स्नातक तह उत्तीर्ण तथा अध्ययनरत युवतीहरू सहभागी छन् । प्रतियोगिताकै लागि केही युवती विदेशबाट आएका छन् भने कतिपय जागिरे जीवनबाट बिदा लिएर प्रतिस्पर्धामा होमिएका छन् । मोफसल तथा राजधानीमै सम्पन्न सौन्दर्य प्रतियोगिताका विजेताहरू समेत यसपटकको मिस नेपालमा प्रतिस्पर्धा गरिरहेका छन् ।

हात्तीवन, ललितपुरकी १९ वर्षीया स्वस्तिका सिलवाल मिस नेपाल–२०१७ की प्रतिस्पर्धी नम्बर १ हुन् । बीबीए दोस्रो वर्षमा अध्ययनरत ५ फिट ६ इन्च अग्ली स्वस्तिका भ्रमण गर्न, नयाँ साथी बनाउन तथा पुस्तक पढ्न रुचाउँछिन् । ललितपुरकै रिंकु बज्राचार्य प्रतिस्पर्धी नम्बर २ हुन् । २३ वर्षीया रिंकु ५ फिट ६ इन्च अग्ली छिन् । नृत्य, यात्रा (ट्रेकिङ) तथा चलचित्र हेर्ने सौख भएकी रिंकुले भविष्यमा उद्यमी बन्ने लक्ष्य लिएकी छिन् । झापाको प्रतिनिधित्व गर्दै मिस नेपालमा प्रतियोगी नम्बर ३ का रूपमा प्रतिस्पर्धा गरिरहेकी प्रियंका खड्का १९ वर्षकी भइन् । प्रतियोगिताका दुई कान्छी प्रतिस्पर्धीमध्ये उनी एक हुन् । ५ फिट साढे ५ इन्च अग्ली प्रियंका संगीत तथा समाजसेवामा रुचि राख्छिन् ।
धादिङ जिल्लाको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धी नम्बर ४ का रूपमा मिस नेपालमा सहभागी सुन्दरी हुन्– अनुषा लम्साल । २२ वर्षीया अनुषा ५ फिट ४ इन्च अग्ली छिन् । अनुषाले यसअघि कक्षा ७ मा अध्ययनरत छँदा राइजिङ भ्याली स्टार शीर्षकको प्रतियोगितामा सेकेन्ड रनर्सअपको उपाधि जितेकी थिइन् । यस पटकको मिस नेपालमा सहभागिता जनाउन हङकङबाट काठमाडौं आएकी प्रतिस्पर्धि हुन्– नर्मता गुरुङ ।बुटवलकी स्थायी बासिन्दा नर्मता प्रतिस्पर्धी नम्बर ५ का रूपमा मिस नेपालमा सहभागी छिन् । ५ फिट ६ इन्च अग्ली नर्मताले अघिल्लो वर्ष सम्पन्न हन्ट फर सुपर मोडल–२०१६ को उपाधि जितिसकेकी छिन् । वीरगन्जकी २२ वर्षीया रोजिना श्रेष्ठ प्रतियोगी नम्बर ६ हुन् । ५ फिट ६ इन्च अग्ली रोजिनाले स्नातक तह उत्तीर्ण गरिसकेकी छिन् ।

चावहिल, काठमाडौंकी १९ वर्षीया आसिना बराल प्रतिस्पर्धी नम्बर ८ हुन् । सेन्ट जेभियर्स कलेजमा सोसल वर्क (बीएसडब्ल्यू) को दोस्रो सेमेस्टरमा अध्ययनरत आसिनाको रुचि पनि समाजसेवा नै हो । ‘मसँग धेरै सपना छन्,’ आसिना भन्छिन्— ‘मिस नेपाल मेरा लागि तिनै सपना पूरा गर्ने पहिलो खुड्किलो हो । आसिनाले वर्ष २०१४ मा सम्पन्न मिस एसएलसीमा शीर्ष उपाधि जितिसकेकी छिन् ।स्याङ्जाकी २४ वर्षीया अनिता भण्डारी मिस नेपालको प्रतियोगी नम्बर ९ हुन् । माइक्रो बाइलोजीमा मास्टर्स गरिरहेकी अनिता सामाजिक कार्यमा रुचि राख्छिन् । अनिता २०१३ मा सम्पन्न मिस ग्लोबल ब्युटी क्विनमा प्रतिस्पर्धा गर्दै उत्कृष्ट १० सम्म पुग्न सफल भएकी थिइन् ।
लाजिम्पाट, काठमाडौंकी २३ वर्षीया रक्षा कार्की प्रतिस्पर्धी नम्बर १० हुन् । ५ फिट ५ इन्च अग्ली रक्षा इन्भाइरोमेन्ट इन्जिनियर हुन् ।
दाङको प्रतिनिधित्व गर्दै मिस नेपालमा सहभागी भएकी नीति शाह स्थापित मोडलसमेत हुन् । मिस नेपालमा प्रतिस्पर्धी नम्बर ११ का रूपमा सहभागी नीति सेन्ट जेभियर्स कलेजमा पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातक गरिरहेकी छिन् । भरतपुर, चितवनकी उरुषा अधिकारी प्रतिस्पर्धी नम्बर १२ हुन् । २२ वर्षीया उरुषाले काठमाडौं युनिभर्सिटीबाट बिएस्सी नर्सिङ गरेकी छिन् । भर्खरै सम्पन्न मिस चितवनमा फोर्थ रनर्स अपको उपाधि जितेकी उरुषा यात्रा गर्न, संगीत सुन्न तथा पौडी खेल्न मन पराउँछिन् ।
पाल्पाकी मञ्जरी सिंह इन्जिनियर हुन् । प्रतियोगी नम्बर १३ मञ्जरीले बैंककबाट सिभिल इन्जिनियरिङ गरेकी छिन् । २२ वर्षीया मञ्जरी ५ फिट ५ इन्च अग्ली छिन् । उर्लाबारी, मोरङकी निकिता चाण्डक प्रतिस्पर्धी नम्बर १४ हुन् । ५ फिट ६ इन्च अग्ली निकिताले भारतको नोएडाबाट ब्याचलर्स इन कमर्स गरेकी छिन् । नृत्य, गीत तथा मोडलिङमा रुचि राख्ने निकिता समाजसेवामा उत्तिकै अग्रसर हुन्छिन् । पोखराकी ज्ञानी बराल प्रतियोगी नम्बर १५ हुन् । ५ फिट ६ इन्च अग्ली ज्ञानी यतिबेला पोखराबाटै व्यवस्थापन संकायमा एमबीएस गर्दैछिन् । पहिलो पटक कुनै पनि सौन्दर्य प्रतियोगितामा सहभागिता जनाइरहेकी ज्ञानी पुस्तक पढ्न, पौडी खेल्न तथा साइकिलिङ गर्न रुचाउँछिन् ।
तीनटोलिया, विराटनगरकी दृष्टि कटवाल प्रतिस्पर्धी नम्बर १६ हुन् । ५ फिट ५ इन्च अग्ली २३ वर्षीया दृष्टि नर्सिङमा स्नातक गरिरहेकी छिन् । यात्रा गर्नु तथा कला एवं संस्कृतिका बारेमा जानकारी लिनु उनका सौख हुन् ।धोविघाट, ललितपुरकी सहारा बस्नेत प्रतिस्पर्धी नम्बर १७ हुन् । २३ वर्षीया सहारा ५ फिट ५ इन्च अग्ली छिन् । सन् २०११ मा सम्पन्न मिस ग्लोबल प्रतियोगिताको उत्कृष्ट ५ सम्म पुग्न सफल सहारा बास्केटबल खेलाडीसमेत हुन् ।शान्तिचोक, विराटनगरकी २२ वर्षीया वर्षा पोखरेल प्रतिस्पर्धी नम्बर १८ हुन् ।
भारतको नयाँ दिल्लीबाट प्लस टु तथा बीकम अनर्स गरेकी वर्षा अब भने नेपालमै रहेर काम गर्न चाहन्छिन् । ५ फिट ४ इन्च अग्ली वर्षा भ्रमणमा रुचि राख्छिन् । शनि अर्जुन, झापाकी स्थायी वासिन्दा हुन् प्रतिस्पर्धी नम्बर १९ कृतिका गिरी । १९ वर्षीया कृतिका मिस पूर्वाञ्चल २०१६ की विजेता पनि हुन् । पत्रकारितामा स्नातक गरिरहेकी कृतिका ५ फिट ४ इन्च अग्ली छिन् ।
कान्तिपुरबाट