काठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमणका लागि आज बिहान थाइल्यान्डको बैङ्ककतर्फ प्रस्थान गरेकि छिन्  ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उनी श्रीलङ्का जान लागेका हुन् । राष्ट्रपति भण्डारी आज बिहान १०ः१५ बजे बैङ्ककतर्फ प्रस्थान गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), सभामुख ओनसरी घर्ती, मन्त्रिगणलगायत उच्चअधिकारीले बिदाइ गरे ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई २१ तोपको सलामी पनि अर्पण गरेको थियो ।

बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन् । आज श्रीलङ्काको राजधानी कोलोम्बोमा सुरु हुने सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलङ्काको दोस्रो ठूलो सहर क्यान्डीमा हुनेछ । रासस