चितवन/विजोग छ ! भरतपुरतिर । पिताजीको आर्शिवाद पाएर भरतपुरबाट मेयरको टिकट पाएकी प्रचण्ड पुत्री रेणु दाहाल आफ्नै कार्यकर्ताहरुको घेराबन्दीमा परेपछि निराश मात्र हुन पुगेकी छिन ।

केन्द्रले कांग्रेस माओवादी तालमेलको ह्विप जारी गरे पनि माओवादी कांग्रेसका कार्यकर्ता रुष्ट हुँदै ‘देखाइछाड्छौं’भन्दै हिड्न थालेपछि झस्किएकी प्रधानमन्त्री पुत्री रेणुले पिता प्रचण्डसँग हार गुहार गरी चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एंव प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा दुबैलाई भरतपुर निम्ताइएको खबर छ । भरतपुरमा कांग्रेस माओवादी तालमेल त भयो । कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत सहजैसँग प्रधानमन्त्री बन्न पाइने आशमा आफ्ना इमान्दार कार्यकर्ता दिनेश कोइरालालाई जर्वजस्त उम्मेद्धारी फिर्ता लिन लगाएर कांग्रेसका कार्यकर्तालाई रुष्ट बनाएपछि अहिले भरतपुर महानगरपालिकाको मेयरको उम्मेद्धार रेणु दाहाललाई सकस परेको छ ।

आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले समेत माओवादीको चुनावी कार्यक्रम एकपछि अर्को गर्दै बहिस्कार गर्न थालेपछि उनी अत्तालिएकी माओवादी निकट सूत्रले जनाएको छ । स्रोतहरुका अनुसार उनका चुनावी कोणसभा र घरदैलो अभियानहरुमा माओवादीका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता अत्यन्त न्यून छ । उनी २०–३० जनाको एउटै टिम लिएर जता पनि दौडिरहेकी छिन् । अरु त अरु रेणु दाहालको चुनावी अभियानमा अहिलेसम्म माओवादी केन्द्र चितवनका अध्यक्ष इन्द्रजित परियारको मुख देखिएको छैन । किन त ?परियारले भने–‘यो चुनावको प्रचारप्रसारमा हामीलाई कुनै मोह छैन । हामी निराश छौ यसपटक ।’ उनको यो भनाई नै काफी थियो कि प्रचण्डको पुत्रीमोहले जिल्लाका नेता तथा कार्यकर्ता कतिसम्म रुष्ट भएका रहेछन् भन्ने कुरा बुुझ्नलाई ।

माओवादीकै एक जिल्लास्तरीय नेताका अनुसार ‘हामीमध्ये धेरै जिल्लास्तरका नेताहरुले प्रचण्डपुत्रीलाई साथ दिएका छैनौ, यो हाम्रो पार्टीभित्रको नातावाद प्रवृतिको विरोधको संकेत पनि हो ।’ यसरी आफ्नैबाट बहिस्कारमा परेकी रेणु दाहालले माओवादी कार्यकर्ताबाटै पनि घात व्यहोर्नुपर्ने अवस्था देखिएको छ । ‘कांग्रेसका अधिकांशले प्रचण्डपुत्रीलाई कुनै पनि हालतमा भोट हाल्दैनन् ।’ माओवादीभित्रको एक सूत्रले भन्यो–‘हामीभित्र पनि धेरैले उनलाई भोट नदिने र प्रचण्डलाई देखाइदिने भन्ने सहमति भएको छ । उनलाई चुनाव जित्न कठीन छ ।’ माओवादी कांग्रेसको तालमेल नटिक्ने र सफल नहुने तथा कांग्रेसभन्दा आफ्नाबाटै अन्तरघात भइरहेको देखेपछि रेणुले बुुबा प्रचण्डलाई गुहारेकी बुझिएको छ । यही कारण प्रचण्ड र शेरबहादुर देउवा बिहीबार चितवनमा पुगी चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको ।