धरान/संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले भित्रभित्रै अर्को पार्टीको गृहकार्य थालेको आरोप लागेको छ । आफू ‘फ्रन्ट’ मा नदेखिने गरी ‘नेपाल इन्डिजिनिष्ट पार्टी’ को गृहकार्यमा लागेको पार्टी कार्यकर्ताहरुले बताएका छन् । इन्डिजिनस् पार्टीको अध्यक्षमा साङ्गे शेर्पालाई अघि बढाइएको छ । गत मंसिरदेखि उक्त पार्टी निर्माणको लागि पटक पटकको छलफल गर्दै अघि बढेको पार्टीकै केही कार्यकर्ताहरु बताउँछन् । मंसिरमा काठमाडौंको तीनचुलेमा पहिलो पटक पार्टी तयारीको बैठक भएको बैठकमा सहभागी बनेका एक नेताले बताए । ‘बैचारिक छलफल र बहस गरौं भनेर ५ महिना अघि महासचिव र अध्यक्षज्युले नै बोलाएर लानु भएको थियो ।’ ती नेता भन्छन्, ‘गाको बेलामा के थाहा भो भने पार्टीको तयारी रहेछ ।’ पार्टीको काम छाडेर भित्रभित्रै अर्को संगठन निर्माण गर्न लागेको भन्दै शनिबार झापाको दमकमा पार्टीको चौथो केन्द्रीय समितिको बैठक बस्दै अध्यक्ष पालुङ्वाप्रति असहमतिका बुँदाहरु पेश गर्दै सह अध्यक्षलाई अध्यक्षको जिम्मेवारी सुम्पेको छ । उक्त सहमतिको बुँदा १ को ५ मा नै भित्रभित्रै लिम्बुवान पार्टी भङ्ग गराई इन्डिजिनिष्ट पार्टी नामक छुट्टै दल निर्माणको लागि अमुक समूहलाई सहयोग गरेको आरोप लगाएको छ । बैठकले सह–अध्यक्ष खगेन्द्र माखिमलाई अध्यक्षको जिम्मेवारी सुम्पेको छ भने सचिवको रुपमा रहेका प्रेमदीप थाम्सुहाङलाई महासचिव बनाइएको छ । यता थाम्सुहाङलाई महासचिव बनाइएको विरोधमा आइतबार मात्रै जिल्ला कार्य समिति सुनसरीले स्वघोषित अध्यक्ष र महासचिव बनेकाहरुलाई कारबाही गर्नु पर्ने माग राखेको छ । पत्रकार सम्मेलन गर्दै जिल्ला अध्यक्ष श्यामकुमार भुजेलले कारबाहीको माग गरे । उनले सचिव थाम्सुहाङलाई पार्टी हित विपरीत कार्य गरेकाले बैसाख २२ गते मात्रै पार्टीले कारबाही गरेको र भोलीपल्ट बैसाख २३ गते नै स्वघोषित रुपमा आउँनु आफैमा आश्चर्य रहेको बताएका छन् । अध्यक्षको जिम्मेवारी पाएका माखिमले उक्त कुरालाई पुष्टी गर्दै अध्यक्ष पालुङ्वाले भित्रभित्रै पार्टी निर्माण गर्न लागेकाले पनि कारबाही गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । यो विषयमा कतिपय जिल्ला कमिटी तथा केन्द्रीय कमिटीकै साथीहरुलाई पनि थाहा नभएको उनले बताए । ‘खास कुरा त विज्ञप्ति निकाल्ने जिल्लासँग सरोकार भएन् ।’ उनले फोनमा भने, ‘अध्यक्ष ८ महिना यतादेखि पार्टीको काममा र कार्यालयसम्म नआएको÷नचलाएकोले पनि कारबाही गर्नुप¥यो ।’ उनले इन्डिजिनिष्ट पार्टीमा सक्रिय भएको पाइएपछि नै असन्तुष्टीको बुँदा पेश गरेर अघि बढेको दाबी गरे । ‘विवादको खास चुरो नै अर्को पार्टीमा लागेकाले हो । यथार्थ नै त्यही हो ।’ उनले भने । २०७१ साउन १९ गते लिम्बुवानजन्य ५ वटा संगठनहरु गोलबन्द बन्दै संघीय लिम्बुवान पार्टी नेपालको जन्म भएको थियो । तर, तीनवर्ष नबित्दै पार्टी अध्यक्ष कुमार लिङ्देन मिराकले निर्वाचन आयोगमा पुरानै पार्टीलाई निरन्तरता दिएपछि पार्टीमा सञ्जुहाङ अध्यक्ष बनेका थिए । अध्यक्ष बनेयतादेखि उनले पार्टीको काम भन्दा अन्य संगठन निर्माण गर्न तिर लागेपछि केन्द्रीय कमिटीका ४१ सदस्यले हस्ताक्षर गर्दै पार्टी विधानको धारा ३८ ९ (क) १ अनुसार हस्ताक्षर गरी २०७४ बैशाख १ गते केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्षसमक्ष प्रत्यक्ष पेशगरी माग गरेका थिए । तर, १५ दिन बित्दा पनि बैठक बोलाउन पहल नगरेको नेता कार्यकर्ताको आरोप छ । यहीबीचमा पार्टी अध्यक्षले संगठनलाई भत्काउने काम गरेको भन्दै पार्टीको जिम्मेवारी अर्कैलाई सुम्पिएको हो । पालुङ्वाले भित्रभित्रै अर्को संगठन बनाउन लागेकोप्रति कुनै दुविधा नरहेको कार्यकर्ताहरु बताउँछन् । यता पार्टीका महासचिव सूर्य माखिमले उहाँहरुले लगाएको आरोप निराधार रहेको बताए । ‘अध्यक्ष र महासचिवले भित्रभित्रै लुकेर पार्टी गठन गर्नुपर्ने कारण नै छैन् । उहाँहरुको निराधार तर्क हो । पदीय दायित्वमा जे छौं । त्यो हिसावले लुकीलुकी गर्नुपर्ने कारण नै छैन् ।’ उनले फोनमा भने । उनले पार्टीको विधान अनुसार चार÷चार महिनामा केन्द्रीय कमिटीको बैठक बस्ने भन्ने निर्णय अनुसार चैत्र ८ गते मात्रै तेस्रो केन्द्रीय कमिटीको बैठक बसेको दाबी गरे । उनले पदाधिकारीहरुको बैठक नियमित नै बसिरहेको बताए । उनले खगेन्द्रलगायत केही साथीहरु उपेन्द्र यादव र बाबुराम भट्टराईको पार्टीमा जाने अन्तिम तयारीमा रहेको आरोप लगाए । उनले भेडेटारमा सम्पन्न ९ बुँदे शर्त अनुसार राष्ट्रिय शक्ति निर्माण गर्ने भन्ने निर्णय अनुसार छलफल गर्नु नौलो कुरा नहुने बताए । उनले भने, ‘उहाँहरुले भनेजस्तो केही पनि छैन् । हामीलाई निलम्बन गरुन, उनीहरु नै जानुन् त्यसमा हाम्रो विमती पनि छैन् । हामी कारबाही गर्ने प्रष्टिकरण दिने, हल्ला गर्ने त्यस्तो मनस्थितिमा छैनौं ।’