तेह्रथुम/ तेह्रथुमको वसन्तपुरस्थित याक होटलका कुक (भान्से) ४५ वर्षीय कृष्ण राई होटलकै शौचालयमा मृत अवस्थामा फेला परेका छन् । लामो समययता होटलमा कुक काम गर्दै आएका राई बुधबार बिहान शौचालय गएपनि लामो समयसम्म नफर्किएपछि ढोका फोरेर हेर्दा मृत अवस्थामा भेटिएको बसन्तपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि वसन्तपुरस्थित प्राथमिक स्वास्थ्य चौकीमा लगिएको तर सामान नभएको भन्दै डाक्टरले पोष्टमार्टम गर्न नमानेपछि जिल्ला अस्पताल लगिएको आफन्तले जनाएका छन् ।

पोष्टमार्टमका लागि चाहिने भवन, औजार लगायतका कुनै पनि समान नभएकाले पोष्टमार्टम गर्ने अवस्था नरहेको वसन्तपुर प्राथमिक स्वास्थ्य चौकीका डाक्टर प्रफुल्ल गुरुङले बताए ।