धरान/पार्टी सभापति शेरबहादुर देउवालाई घुर्की लगाउँदै गृहमन्त्रीबाट राजीनामा दिएका कांग्रेस नेता विमलेन्द्र निधि फेरि सरकारमा फर्कने भएका छन् । देउवासँग बुधबार साँझ पार्टी कार्यालयमा झण्डै एकघण्टा लामो छलफल र मन माझामाझपछि निधि गृहमन्त्रीकै रुपमा फेरि फर्कन तयार भएको बताइएको छ । निधिले वैशाख १७ गते गृहमन्त्रीबाट राजीनामा दिए पनि स्वीकृत भएको छैन ।
प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग, नेपाल प्रहरीको आइजी पद नियुक्ति लगायतका विषयमा देउवासँग कुरा नमिलेपछि निधिले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । तर, देउवा गुटका नेताहरुले दुवै नेताहरुलाई फकाएर बुधबार साँझ छलफल गराउन सफल भएको स्रोतले बतायो ।
दुई नेतालाई मिलाउन भूमिका खेलेका काँग्रेसका एक नेताका अनुसार दुवै नेताहरुले आपसमा मन माझामाझ गरेका हुन् । भेटमा मधेसी मोर्चालाई सहमतिमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै देउवाले निधिको प्रशंसा गरेका थिए । भाबुक बनेका देउवाले आगामी दिनमा पनि मिलेर जाने भन्दै गृहमन्त्रालय फर्केर काम गर्न आग्रह गरेका थिए ।
चुनावको मुखमा गृहमन्त्रालको जिम्मेवारी छाड्दा पार्टी र निधि स्वयम्लाई नोक्सानी हुँदै देउवाले निधिलाई सम्झाएका थिए। देउवाको आग्रहपछि निधि गृह मन्त्रालय फर्कन तयार भएको ती नेताको दाबी छ । देउवाले विगतको सहमति अनुसार पार्टीको उपसभापतिको जिम्मेवारी पनि दिने बचन दिएका छन् । जेठमा आफू प्रधानमन्त्री बनेपछि पार्टी उपसभापतिको रूपमा पार्टी सम्हाल्ने गरी जिम्मा दिने आश्वासनपछि निधि गृहमन्त्रालय फर्कन राजी भएको बताइएको छ ।
देउवा र निधि मिलाउने को-को ?
देउवा र निधिबीच पानी बाराबारको अवस्था सिर्जनापछि काँग्रेसभित्र देउवा गुटमा निकै ठूलो भुईँचालो आएको थियो भने पौडेल गुट उत्साहित बनेको थियो ।
दुई नेताबीच सामान्य कुराकानी पनि बन्दपछि संस्थापन (देउवा गुट) का नेताहरू गोपालमानसिंह श्रेष्ठ, प्रदिप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुननरसिंह केसी, रमेश रिजाल, बालकृष्ण खाँण र रमेश लेखक, एनपी साउद, मीन विश्वकर्मा लगायतले दुवैजनालाई जसरी पनि मिल्न दबाब दिएका थिए । उनीहरुकै निरन्तरको पहल र दबाबपछि देउवा र निधि लामोपछि बुधबार साँझ भेट र छलफल गरेका हुन् ।दैनिकनेपालबाट