झापा/ प्रेस स्वतन्त्रताको अवस्थाले लोकतन्त्रको मापन हुने बुधबार आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

२० औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागी वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा आयोजित कार्यक्रममा पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाईले अभिव्यक्ति स्वतन्तत्रताको स्तरले राज्यमा लोकतान्त्रिक अवस्था कस्तो छ ? भन्ने देखाउने बताए ।

शाखा अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस चौतारी नेपाल झापा शाखा सचिव प्रदिप परियारले आज पनि सञ्चारकर्मीहरुले स्वतन्त्रपूर्वक बोल्न लेख्न पाउने अवस्था नरहेको बताए ।

विश्व पे्रस स्वतन्त्रता दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सञ्चारकर्मी तथा गीतकार लोक रेग्मीको प्रस्तुति रहेको मिलन विछोड नामक म्युजिक भिडियोको समेत लोकार्पण गरिएको थियो । म्युजिक भिडियोको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ लोकगायक एलपी जोसीले गरेको थियो ।

कार्यक्रमलाई वरिष्ठ गीतकार शिवशंकर थापा, निर्देशक तथा पत्रकार डिकेस लामा, लोक रेग्मी, संगीतकार राम सिटौला लगायतले शुभकामन व्यक्त गरेका थिए ।

महासंघ शाखा उपाध्यक्ष एकराज गिरिले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखा सचिव सन्तोष आयार्यले गरेका थिए । कार्यक्रममा ४ मिनट २२ सेकेन्डको एउटा म्युजिक भिडियो प्रस्तुती र गायक प्रेम मोक्तानले एउटा गीत प्रस्तुत गरेका थिए ।