खोटाङ/ अहेबको करार पदमा जागिर लगाइदिने भन्दै परीक्षार्थीबाट रकम लिने जिल्ला अस्पताल खोटाङका नासु केदारनाथ खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पठाइएको छ ।
पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले खोटाङका लागि खुलाएको अहेवको अस्थायी करार कोटामा जागिर लगाइदिन्छु भन्दै १३ जना परीक्षार्थीबाट रकम असुुलेको आरोपमा बैशाख १७ गते पक्राउ परेका नासु खनाललाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयले मंगलबार इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पठाएको हो ।
जागीर सुनिश्चितताका लागि घुस खुवाए पनि अहेवमा नाम ननिस्किएपछि असन्तुष्ट परीक्षार्थीले आवाज उठाउँदा नासु खनालले १३ परीक्षार्थीबाट प्रतिव्यक्ति २० हजारदेखि ५० हजारसम्म असुलेको स्वयम् नासु खनालले स्विकार गरेका थिए । जिल्ला प्रशासन समक्ष खनालले केही ब्यक्तिको रकम फिर्ता गरिसकेको र केहीको भने ब्याजसहित नै फिर्ता गर्ने सार्बजानिक रुपमा स्विकार गरेका थिए ।
प्रमाण बरामद, प्रमाणको खोजी, मुचुल्का तयार, बयान लगायतका प्रारम्भिक अनुसन्धान गरेर आवश्यक अनुसन्धान र कारबाहीका लागि नासु खनाललाई अख्तियार समक्ष पठाइएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बताए । परीक्षार्थीबाट रकम लिएको मौखिक तथा लिखित उजुरी परेपछि प्रशासनको अनुुन्धानमा तानिएका नासु खनाललाई प्रशासनले कर्मचारी र सुरक्षाकर्मीसहित इटहरी पठाएको जनाएको छ ।
पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले गत माघमा खोटाङका लागि ३० जना अहेवको अस्थायी करार कोटा खुलाएको थियो ।
रकम दिए पनि अहेवको करारमा नाम ननिस्किएपछि आक्रोशित परीक्षार्थीले नेपाली कांग्रेस क्षेत्र नम्बर २ लाई सहयोगका लागि गुहारेपछि घटना छताछुल्ल भएको हो । कांग्रेस क्षेत्रीय समितिले आवाज उठाउँदै नासु खनाललाई कार्यकक्षबाट बाहिर निकालेर ताला लगाएपछि प्रहरीले खनाललाई नियन्त्रणमा लिएर प्रशासन समक्ष बुझाएको थियो । खनालमार्फत पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाका नासु ज्ञानप्रसाद पोखरेल लगायतको हातमा रकम पुगेको श्रोतको दाबी छ ।