मोरङ/ अगाडि अन्य यातायातका साधन आएको ख्याल नगरी ओभरटेक गर्दा दुर्घटना बढिरहेको छ । पूर्वपश्चिम मुख्य सडक अन्तर्गत मोरङको पथरीशनिश्चरे १० स्थित जिरिखिम्ती टोलमा मंगलबार दिउँसो भएको यही प्रकारको सडक दुर्घटनामा १ जनाको ज्यान जानुका साथै १३ जना घाइते भएका छन् । दिउँसो डेढ बजेको समयमा को.२४ प ६०६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ लागेको अवस्थामा विपरित दिशाबाट आएको ना. ७ ख २६५१ नम्बरको बससँग ठोक्किदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको हो । अगाडि आउने यातायातको साधनको ख्याल नगरी ट्कलाई ओभरटेक गर्ने क्रममा बससँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक पथरीशनिश्चरे १० ऐयावारीका ४५ वर्षीय पृथ्वीबोल राईको ज्यान गएको पथरी टफिक प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भई उत्तरतर्फको गहिरो भागमा झरेको छ । सो क्रममा, वसमा रहेका झापा विर्तामोडकी विमला तामाङ, गौरादह ६ की मेनुका भट्टराई र गीता भट्टराई, मोरङ डाँगीहाट १ का अशोक धिमाल, उर्लाबारी ३ की गीता गौतम, उर्लाबारी ४ की गोमा विक सहित १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घाइतेको पथरी हस्पिटल सहितका हस्पिटलमा उपचार भइरहेको छ ।