इटहरी/ झापाको धाइजन घर भइ इटहरीमा बसोबास गरिरहेकी रेवता सिंखडा यतिबेला हरेक बिहान इलाका प्रहरी कार्यालय इटहरी धाउछिन् ।
सरकारले स्थानीय तहको निर्वाचनका लागि खुलाएको म्यादी प्रहरीमा भर्ना भएकी रेवता अहिले तालिम लिइरहेकी छिन् ।
१७ वर्षको उमेरमा नेपाल आर्मी क्लबमा आबद्ध भएर बीचमा स्वस्थ्यका कारण छाड्नु परेको बताउने रेवता अहिले म्यादी प्रहरीमा भर्ना भएर देशको सेवा गर्ने चाहाना पुरा गर्दैछिन् ।
रेवता देशको सेवा गर्न म्यादीमा भर्ना भएको बताउँछिन् । ‘दुई महिना भएपनि देशको सेवा गर्न पाउने भएकाले म्यादीमा भर्ना भएकी हुँ, उनले भनिन्, पहिले स्वास्थ्यका कारण बीचैमा सेनाको जागिर छाड्नुपर्यो अब म्यादी प्रहरीबाट भएपनि देशको सेवा गर्ने चाहाना छ ।’
सेनाको तालिम लिइसकेका कारण उनका लागि म्यादीको तालिम नौलो भने होइन । ‘पिटि अलिकति थपिएछ,’ उनले भनिन्, ‘अरु त सेना र प्रहरीको उस्तै हुन्छ, म उल्टै गुरुहरुलाई सहयोग गरिरहेकी छु ।’महिला फुटबल खेलाडीको रुपमा उनी ८ वर्ष नेपाली सेनामा रहिन् । उनका श्रीमान् पनि आर्मीमा मेजर थिए । ८ वर्षपछि मेजर श्रीमान् रिटायर्ड भएसँगै उनले पनि आर्मी छाडिन् । ‘सिजरिङ गरेर बच्चा भएपछि खेल्न कुद्न भएन र आर्मी छाडेँ,’ उनले भनिन् । इलामस्थित बटुकदल गुल्ममा सँगै कार्यरत चन्द्रबहादुर कुँवर क्षेत्रीसँग उनको विवाह भएको थियो । ‘जब केटा र केटी कुरा गर्ने अवसर दिइयो, तबमात्र मेरो श्रीमान् मेरै गुल्मको मेजर भएको थाहा पाएँ,’ उनी भन्छिन् ‘त्यसअघिसम्म राम्रोसँग हेरेको पनि थिइनँ ।’ रेवताको अहिले डेढ वर्षकी छोरी पनि छिन् । छोरीलाई छाडेर उनी म्यादीको तालिम लिन इलाका प्रहरी कार्यालय इटहरी धाउछिन् । उनी सेना छाडेपनि देशको सेवा गर्ने अधुरो चाहाना पुरा गर्नकै लागि म्यादी प्रहरीमा भर्ना भएकी छिन् ।न्युजलयबाट