धरान/इलाका प्रहरी कार्यालय झिलझिलेले शुक्रबार महेन्द्र राजमार्ग अन्तर्गत पक्राउ गरेको एककेजी सुन बैद्यानिक रुपमा ल्याइएको सुनचाँदी व्यवसायीहरुले दाबी गरेका छन् ।

कुमारी बैंक काठमाडौंबाट व्यवसायिक प्रयोजनको लागि ल्याउँदै गर्दा चेकजाँचको क्रममा बिल देखाउँदा देखाउँदै प्रहरीले पक्राउ गरेको व्यापारीहरुको आरोप छ । ‘पहिलो कुरा त बिल देखाउँदा देखाउँदै पक्राउ गरेको छ ।’ सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मोहनकाजी शाक्यले भने, ‘दोस्रो कुरा त्यो निकाय भन्दा माथिल्लो निकायले बुझेर कम्तीमा छाड्नु पथ्र्यो ।’
उनले प्रहरीको दुःख दिने नियतका कारण व्यवसायीहरु थप मारमा परेको बताए । ‘बैद्यानिक बाटोबाट किनेर ल्याउँ पक्राउ गरिदिन्छ । अनी व्यवसायीहरुले कसरी व्यापार गर्ने ?’ उनले आक्रोस पोखे । विर्तामोडको पूर्णिमा ज्वेलर्सले एप्रिल २७ तारिखका दिन खरिद गरेको कुमारी बैंकको बिलमा उल्लेख छ । प्रति १० ग्राम ४६ हजार ४५० रुपैयामा खरिद गरेको बिलमा देखिन्छ ।
‘बकाइदा बिल हुँदा हुँदै पक्राउ गरेर व्यापारीहरुलाई दुःख दिन खोजेको छ ।’ महासंघका केन्द्रीय सह कोषाध्यक्ष एवम् सुनसरी सुनचाँदी व्यवसायी संघका अध्यक्ष किशन मास्केले भने । प्रहरीहरुले गैरजिम्मेवारी तरिकाले जवाफ दिने कारण व्यवसायीहरुले अनाहकमा दुख पाइरहेको उनको आरोप छ । उनका अनुसार झापा सुनचाँदी व्यवसायी संघ, र नेपाल सुनचाँदी महासंघको सिफारिसमा कुमारी बैंकबाट सुन ल्याएको हो ।
सबै प्रक्रिया पु¥याए पनि सुन फिर्ता गर्नु त कता हो कता ? उल्टै व्यापारीहरुलाई पनि हिरासतमा लिएर कारबाही चलाइरहेको उनले बताए । सुनचाँदी व्यवसायी संघ र महासंघले नै यस बिरोधमा पूर्वाञ्चल भरी सांकेतिक रुपमा एकदिने बन्दको आह्वान गरेको छ । मंगलबार पूर्वभरीका सुनचाँदी पसलहरु बन्द रहने बताइएको छ । ‘यो हाम्रो सांकेतिक आन्दोलन हो ।’ उनले भने ।
जिल्ला तथा महासंघले नै विज्ञप्ति जारी गरेर बन्दको आह्वान गरेको हो । यस विषयमा प्रहरी प्रमुखहरुले पनि गैरजिम्मेवारी तरिकाले जवाफ दिने गरेको व्यवसायीको आरोप छ । ‘बिल सक्कली हो कि नक्कली छुट्याउने निकाय म हैन, भन्दै झापा एसपीले गैरजिम्मेवार जवाफ दिन्छ ।’ उपाध्यक्ष शाक्य भन्छन् । यता प्रहरीलाई फोन सम्पर्क गर्दा फोन लागेन ।