काठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटवार्तामा उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको निर्वाचन र प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोगका विषयमा छलफल भएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचन र प्रधानन्यायाधीशको महाअभियोगका विषयमा जिज्ञासा राखेकी थिइन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले घोषित वैशाख ३१ गतेको निर्वाचन समयमै हुने बताएका थिए ।
“घोषित निर्वाचन नरोकिने र पछिल्ला राजनीतिक घटनाक्रमले कुनै असर पार्दैन” – प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनका सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
राष्ट्रपतिले प्रधानन्यायाधीशका सम्बन्धमा राखेका जिज्ञासामा प्रधानमन्त्रीले व्यवस्थापिका–संसद्भित्रको लोकतान्त्रिक विषय भएको स्पष्ट गराएकाे आचार्यले बताए।
करिब डेढ घन्टा भएको भेटवार्तामा अन्य समसामयिक विषयमा छलफल भएको थियो ।