सुरुङ्गा / प्रहरीले झापाको दमकबाट ‘कल वाइपास’ गर्ने एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत कोलकत्ता घर भई हाल दमक नगरपालिकामा डेरा गरी बस्ने ३३ वर्षीय अमन सिंह रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय, दमकको टोलीले गएराति विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। उनी दमक नगरपालिका–५ स्थित मनिष लिम्बूको घरमा डेरा गरी बस्दै आएको बताइएको छ ।

प्रहरीले उनको कोठाबाट कल वाइपास गर्ने उपकरण, इन्भर्टर, इन्भर्टरको ब्याट्री, एक सय थान नेपाल टेलिकमका सिम कार्ड र १५० थान एनसेलका सिमकार्ड तथा रिचार्ज कार्ड बरामद गरेको प्रहरी नायब उपरीक्षक लिम्बूले बताए ।

पक्राउ परेका सिंहलाई इप्रका, दमकमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।