मोरङ/दुई चरणमा स्थानीय तह निर्वाचनको कुराले चुनावी गतिविधिमा केही अन्यौलता सिर्जना गरेको भएपनि नेकपा एमाले झापाले भनें उम्मेदवार छनौटको प्रक्रिया जारी राख्दै ४ सय ५० जनाको नाम टुंगो लगाएको छ ।
७ वटा निर्वाचन क्षेत्रमा विभाजित जिल्लामा ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ वटा तह छन् । जसमध्ये २ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष र एक गाउँपालिकाको अध्यक्षको उम्मेदवार टुंगो लागेको छ । अन्य नगरपालिका र गाउँपालिकाको धेरैजसो वडामा उम्मेदवार टुंगो लागेपनि नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार भनें कुनै तहमा पनि टुंगो लाग्न नसकेको जिल्ला अध्यक्ष चिन्तन पाठकले जनाए । उनले जिल्लामा ६ सय ५५ जना उम्मेदवार हुनु पर्नेमा हालसम्म ४ सय ५० जनाको नाम टुंगो लगाएको र वडाको वाँकी नाम छान्नका लागि कार्यदल गठन गरिएको बताए ।
गाउँपालिका र नगरपालिका तथा गाउँपालिकाको वडा तहका उम्मेदवारको नाम सर्वसहमति भए या नभएपनि जिल्लामा पठाइएको छ । नगरको प्रमुख र उपप्रमुखको प्रदेशमार्फत केन्द्रीय कमिटीले अनुमोदन गर्ने एमालेको प्रावधान छ । जिल्लाको कचनकवलको अध्यक्षमा शेरबहादुर खत्री र उपाध्यक्षमा धनमाया दहाल सहित वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र २ जना खुला सदस्य गरी कुल ३७ जनाकै नाम टुंगो लागेको छ । बुद्धशान्ति गाउँपालिकामा पार्टी जिल्ला अध्यक्ष चिन्तन पाठकको नाम अध्यक्षमा टुंगो लागेको छ ।
झापा गाउँपालिका अध्यक्षमा गजेन्द्र ताम्ली, र उपाध्यक्षमा कुन्तीदेवी बुढाथोकीको नाम टुंगो लगाएर जिल्ला कमिटीमा सिफारिस गरिएको छ । वाँकी वडा तहको टुंगो लगाउन गठित कार्यदलमा जिल्ला अध्यक्ष पाठकका साथै सांसद रविन कोइराला र हरि राजवंशी तथा जिल्ला कमिटीकी उपसचिव चन्द्रा श्रेष्ठ र सदस्य मदन अधिकारी रहेका छन् । उनीहरुका साथमा क्षेत्र, नगर र गाउँ कमिटीका इञ्चार्ज र अध्यक्षहरुको टीम बसी छलफल गर्नेछ । क्षेत्रीय सांसदहरु काठमाडौंमा रहनु भएकाले तत्काल कार्यदलको बैठक बस्न सकेको छैन । केन्द्रको विकसित राजनीतिक परिस्थितीलाई हेरेर सांसदहरु फर्किएपछि कार्यदलको बैठक बसी उम्मेदवारको टुंगो लगाउने तयारी भइरहेको पार्टीले बताएको छ ।
पार्टीले धेरैजसो गाउँपालिका तथा नगरपालिकाका वडा अध्यक्ष र सदस्यहरुको टुङ्गो लगाएको छ । आठ वटै नगरपालिकाका प्रमुख र उपप्रमुखको नाममाथि छलफल भई लगभग टुङ्गोमा पुगेको पार्टी स्रोतले बताएको छ । जिल्ला कमिटीले निर्णय गर्न पाउने अधिकार क्षेत्रभित्रका नामको पनि अन्तिम निर्णय हुन मात्र बाँकी रहेको उल्लेख छ । नगरप्रमुख र उपप्रमुखको हकमा प्रदेश कमिटीले छिनोफानो गर्ने भएकाले बढीमा तीन तीन जनाको नाम सिफरिस गर्ने तयारी गरिएको छ । मेचीनगर नगरपालिकाको प्रमुखमा गोपाल बुढाथोकी र विष्णु प्रसाईं तथा उपप्रमुखमा मीना पोखरेल उप्रेती र शारदा शर्माको नाम सिफारिस हुने निश्चित प्राय भएको बताइन्छ । जिल्लाको सवैभन्दा पुरानो भद्रपुर नगरपालिकाको प्रमुखमा जीवनकुमार श्रेष्ठ र यामबहादुर श्रेष्ठ तथा उपप्रमुखमा चन्द्रा श्रेष्ठ र तुलसा राजवंशीको नाम प्रदेश कमिटीमा पठाइँदैछ ।
यसबेलाको तीव्र शहरीकरणको विर्तामोड नगरपालिका प्रमुखमा ज्ञानुराम प्रसाईं, एकराज कार्की र हरिचरण शिवाकोटीको तथा पवित्रा महतारा, पवित्रा पाठक र भीमा शिवाकोटीको नाम उपप्रमुखका रुपमा पठाउने तयारी रहेको बुझिएको छ । अर्जुनधारा नगरपालिकाको प्रमुखमा हरिकुमार राना र कुन्दन भट्टराईबीच तीब्र प्रतिष्पर्धा छ भने उपप्रमुखका लागि कमला आचार्य र देवीमाया भट्टराई उम्मेदवारको अन्तिम सूचिमा समेटिनु भएको छ । कनकाई नगरपालिकाको प्रमुखमा राजेन्द्र पोखरेल र हिरा थापा तथा उपप्रमुखमा सिता बस्नेत र मञ्जु प्रसाईं सिफरिस हुने अवस्था छ ।
शिवसताक्षी नगरपालिकाको प्रमुखमा रोशन थोप्रा र चन्द्र शेर्मा तथा उपप्रमुखमा भोजकुमारी नेपाल र नरमाया कार्कीको नाम टुंगो लागेको छैन । गौरादह नगरपालिकाको प्रमुखमा केन्द्रीय सदस्य हिक्मत कार्की र जिल्ला सदस्य मदन अधिकारीको नाममा प्रतिष्पर्धात्मक चर्चा छ । उपप्रमुखमा शारदा पराजुली र लीला कार्कीको नाममा पनि उस्तै चर्चा छ । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरका रुपमा रहेको दमक नगरपालिकाको प्रमुखका लागि रोमनाथ ओली र अम्बिका खनाल तथा उपप्रमुखमा सुमित्रा भण्डारी र लीला दहालको नाम छ ।