भारतीय इञ्जिनियर झापाबाट पक्राउ, फ्ल्याट लिएर कालाे धन्दा
- वैशाख १८, २०७४
- ब्लाष्ट खबर
झापा । प्रहरीले कल बाइपासमा संलग्न एक जना भारतीय आइटी इञ्जिनियरलाई आइतबार राति झापाको दमकबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलकत्ता स्थायी घर भएका २५ वर्षीय अमन सिंह छन् ।
इलाका प्रहरी कार्यालय, दमकले विशेष सुराकीको आधारमा कलबाइपास गरिरहेको स्थानबाट सिंहलाई पक्राउ गरेको इप्रका, दमकका डिएसपी राजन लिम्बुले बताए ।
उनका अनुसार, सिंह दुई महिना अघिदेखि दमकका मनीष लिम्बुको घरको कोठा भाडामा लिएर बसेका थिए ।
‘कोठाको अवस्था हेर्दा पूरै फ्ल्याट लिएर कलवाइ पास गर्ने गरेको जस्तो बुझिन्छ’, लिम्बुले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’
सिंहको कोठाबाट प्रहरीले ठूलो परिणाममा एनसेल र एनटीसीको सिम तथा रिचार्ज कार्डसमेत बरामद गरेको छ ।
उनको कोठाबाट कल बाइपासमा प्रयोग हुने व्याट्री, ईन्भटर, ४७ थान एनटिसीको सिमकार्ड, १ सय ३० थान एनसेलको सिमकार्ड र थुप्रै रिचार्ज कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।