काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाउन पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयका केही व्यक्ति सक्रिय भएको राप्रपाले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयमा रहेका फणिराज पाठक, सागर तिमिल्सिना र पशुपतिभक्त महर्जन राप्रपा फुटाउन लागिपरेको अध्यक्ष कमल थापा निकट स्रोतले जानकारी दियो । स्रोतका अनुसार डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा बनेको पार्टीलाई बलियो बनाउन राप्रपा फुटाउन उनीहरु लागिपरेका छन् । नागरिकता लगायतका कतिपय विषय राष्ट्रघाती भएको भन्दै संविधान संशोधनको पक्षमा मतदान नगर्न राप्रपाका १० जना सांसद्लाई दबाब परेको छ । स्रोतका अनुसार उनीहरु ४० प्रतिशत पुर्याएर अर्को पार्टी बनाउने तयारीमा सक्रिय छन् । “संविधान संशोधन राष्ट्रको पक्षमा छैन,” स्रोतले भन्यो, “त्यसैले पनि यो प्रस्ताव पारित गराउन हुँदैन ।” पूर्वराजाको निकट रहेका केही पत्रकार पनि पार्टी फुटाउन सक्रिय रुपमा लागिपरेको राप्रपा स्रोतले जानकारी दियो । राप्रपाले पार्टी फुटाउने षडयन्त्रमा लागेको भन्दै तीन जना सांसद्माथि कारवाहीको तयारी गरेको छ । रामकुमार सुब्बा, विराज विष्ट र रेशम लामामाथि कारवाहीको तयारी अघि बढेको अध्यक्ष थापा निकट स्रोतले जानकारी दियो ।