इलाम / राष्ट्रिय गौरवको आयोजना काबेली कोरीडोरका आयोजना प्रमुख दिपेन्द्रराज द्विवेदीले आयोजना प्रभावित इलाम जिल्लाको इलाम नगरपालिका–७ का साबिक सिद्धिथुम्कावासीलाई शतप्रतिशत क्षतिपूर्तिसहित मुआब्जा दिने बताउनुभएको छ । उहाँले नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदले आयोजना गरेको प्रभावित स्थानीय बासिन्दा र कोरीडोर बिच गरेको छलफल कार्यक्रममा यस्तो बताउनुभएको हो ।

आयोजना प्रमुखले प्रभावित स्थानीय बासिन्दाको जिज्ञासालाई समाधान गर्दैे माग अनुसार तत्कालै जग्गाको नापजाँच गर्ने, आयोजनाको समग्र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (आइइई) हेर्न दिने, आधिग्रहण गरिएको भौतिक संरचनाको सतप्रतिशत क्षतिपूर्तिसहित मुआब्जा दिने प्रक्रिया तत्कालै थाल्ने स्थानीय बासिन्दालाई जानकारी गराउनुभयो  ।

कोरीडोरको गोदकबाट अमरपुर काबेलीसम्मको एक सय ६३ वटा टावरको ११ नम्बर टावरबाट २५ नम्बर टावर भएको साविक सिद्धिथुम्का गाविसको वडा नम्बर ४ र ५ का बासिन्दाले आयोजनाले जानकारी नै नगराई आफ्नो घर जग्गा जबरजस्ती अधिग्रहण गरी टावर गाडेको आरोप लगाए । प्रभावित बासिन्दाले नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा संघर्ष समिति नै बनाएर प्रभावितको घर जग्गाको नापजाँच गर्नुपर्ने, समग्र वातावरणीय प्रभाव मूल्याङ्कन (आइइइ) हेर्न पाउनु पर्ने, अधिग्रहण गरिएको भौतिक संरचनाको शतप्रतिशत क्षतिपूर्ति र मुआब्जा दिन माग गर्दै आएको संघर्ष समितिका अध्यक्ष प्रकाश तामाङले जानकारी गराउनुभयो  ।

संघर्ष समितिले वास्तविक प्रभावित स्थानीयको सहभागी बिना जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारीको रोहवरमा भएको जग्गाको मूल्याङ्कन प्रतिवेदन पुनरावलोकन हुनुपर्ने, समग्र वातावरणीय प्रभाव मूल्याङ्कन (आइइइ) हेर्न पाउनु पर्ने माग गर्दै केही दिन अघि जिल्ला प्रशासन कार्यालयमा समेत माग पत्र पेश गर्दै शतप्रतिशत क्षतिपूर्तिसहित मुआब्जा दिलाई दिन आग्रह समेत गरेका थिए ।

क्षतिपूर्तिका लागि अधिग्रहण गरिएको जग्गाको मूल्याङ्कन चित्त नबुझेको बताउँदै छलफलमा स्थानीय बासिन्दाले यसलाई पुनरावलोकन गर्न समेत छलफलमा माग गरेका छन् । केही दिनअघि संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमा बुझाएको माग पत्रकाबारेमा जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने जग्गा मूल्याङ्कन उपसमितिले गरेको प्रतिवेदन पुनरावलोकन हुन नसक्ने जानकारी गराउँदै मूल्याङ्कन गरिएको क्षतिपूर्ति लिन आग्रह गर्दै स्थानीय बासिन्दालाई राष्ट्रिय गौरवको आयोजनालाई सफल बनाउन आग्रह समेत गर्नु भएको छ ।