काठमाडौं / कांग्रेस सभापति शेरबहादुर देउवाले ३१ वैशाखमा पहिलो चरणको निर्वाचन गर्न कठिनाइ भए आफ्नै नेतृत्वमा बन्ने सरकारले स्थानीय तहको निर्वाचन गराउने बताएका छन् । एमाले अध्यक्ष केपी ओलीसँग शनिबारको भेटवार्तामा देउवाले पहिलो चरणको चुनाव हुन नसके आफ्नो नेतृत्वमा बन्ने सरकारले एउटै चरणमा चुनाव गर्ने प्रतिबद्धता जनाउँदै सहयोग मागेका हुन् ।

‘३१ गतेका लागि तोकिएको मितिमा चुनाव गर्न कठिनाइ भयो भने मेरो नेतृत्वमा बन्ने सरकारले चुनाव गर्नेछ,’ देउवाको भनाइ उद्धृत गर्दै ओलीनिकट स्रोतले भन्यो, ‘त्यसवेला तपाईंको पनि सहयोग हुनेछ भन्ने अपेक्षा छ ।’ जवाफमा ओलीले सरकार फेरबदल एमालेको चासो र सरोकारको विषय नभएकाले एउटै चरणमा निर्वाचन हुनुपर्नेमा जोड दिएका थिए । ‘सरकार परिवर्तन हुने–नहुने, त्यसमा को जाने(नजाने, हाम्रो चासो र सरोकारको विषय होइन,’ ओलीको भनाइ थियो, ‘तर, निर्वाचन एउटै चरणमा हुनुपर्छ, निर्वाचन आयोगले कठिनाइ हुन्छ भन्यो भने ‘एक डेढ हप्ताको समय ग्याप राखेर दुई चरणमा चुनाव गर्न सकिन्छ ।’