धरान/६७ लाख मूल्य बराबरको सयकेजी चाँदीसहित दुई जनालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्ध एयरबाट भद्रपुर आएका दुईजनाको साथबाट उक्त परिणाममा चाँदी बरामद गरेको हो ।

बुद्ध एयरमा चाँदी आउँदै छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । झापा बुद्धशान्ति गाउँपालिका–३ का मनोज गोयल र झापा गाउँपालिका–२ का पुण्यप्रसाद अधिकारीलाई पक्राउ गरेको हो । उनीहरुले २०–२० केजीको पोकामा शिलबन्दी गरिएको अवस्थामा पाँचवटा चाँदीका पोका बरामद् गरेको झापा प्रहरीले बताएको छ ।
प्रहरीले चाँदी हो÷होइन भनेर सुनचाँदी व्यवसायी संघ विर्तामोडमा जाँच गर्दा चादी रहेको खुलेपछि पक्राउ गरिएको हो । उक्त चाँदी काठमाडौंबाट महेन्द्र गोयलले पठाइदिएको भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा बताएको प्रहरीले जनाएको छ ।
अंचल प्रहरी कार्यालय मेची र विमान सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उक्त चाँदीको बजार मूल्य प्रतिकेजी ६७ हजार ७ सय २९ रुपैया पर्न आउँछ । जस अनुरुप सय केजीको ६७ लाख ७२ हजार नौसय पर्न आउने प्रहरीले बताएको छ । प्रहरीले आवश्यक अनुसन्धानको लागि चाँदीसहित दुईजनालाई राजश्व अनुसन्धान पुर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीमा पठाइएको बताएको छ ।