मन र मिलेपछि विवाह गर्न न त जातले रोक्छ न धर्मले । तर, हाम्रो सामाजिक संस्कार अझै पनि जात र धर्मका नाममा कसैको घरमा आगो लगाएको हेरिरहेको छ। बिएड तेस्रो वर्षमा पढ्दै गरेका दुई बहिरा न बोल्न सक्छन न कान सुन्न सक्छन्।

मिति २०७२ माघ ४ मा यस्तै भयो। मोरङको पथरीशनिश्चरे १ का अनिल खत्री र बेलबारी ४ की अक्सना खातुनबीच प्रेम बिवाह भयो। अक्सनाको परिवारले भाड्न खोज्दा अनिलले अक्सनालाई आफ्नो घरमा बेहुली बनाएर भित्र्याउने समाजको मात्र होइन ,प्रहरी प्रशासनको पनि मद्दत लिनु परेको थियो।

यति हुँदा हुँदै पनि बोल्न नसक्ने अनिललाई केटी पक्षले दबाब दिइरहे। अनिल र अक्सना दुबै समान खाले अपाङ्गता भएका ब्यक्ति हुन्। उनीहरू काठमाडौंस्थित नक्साल बहिरा स्कुलमा बिएड सँगै पढका थिए। अनिल र अक्सना हाल विएड तेस्रो वर्षमा अध्ययनरत छन्। मात्र आवाज बिहिन उनीहरूले २०७२ माघ १ गते झापाको कन्काई माईमा लाखौं भक्तजनलाई साक्षी राखेर सँगै जिउने ,सँगै मर्ने कसम खाएका थिए। तर,उनीहरूको प्रेम यात्रामा धर्मको तगारो लागेपछि अनील र अक्सना संकटमा परेका छन्।

२०७२ साल माघमा अक्सनाकी आमाले हिन्दु र मुसलमानको बिबाह हुनै सक्दैन भन्दै ४ दिन सम्म छुटाउने प्रयास गरेकी थिइन्। ईलाका प्रहरी कार्यालय पथरीले केटीलाई केटासँग जिम्मा लगाएर पठाउँदा केटीपक्षले प्रहरीमाथि हात समेत उठाएको थियो। अक्सनालाई जन्मिदै भगवानले ठगे, जीवन साथी रोज्दा प्रहरी थुनामा रात काट्नु पर्‍यो, विवाह त भयो तर सम्बन्ध टुटाई छाडे अक्सनाको माईतीले, फेरि धर्मको आड लिएर बाबु आमाले ठग्दै छन्।

उता बाबु मोहम्मद खातुनले बेलबारी प्रहरीमा छोरी हराएको जाहेरी दर्ता गराएका थिए। सोही आधारमा पथरी इलाकाले केटा केटीलाई प्रहरी कार्यालयमा झिकाई एक आपसमा छलफल चलाउँदा केटाकेटी दुबै पढे लेखेका भएका र राजी खुसीनै विवाह गरेको बताएपछि प्रहरीले उनीहरूलाई कसैको दवावमा पनि छुटाउन नसकिने बताएको थियो। केटीका बाबु आमाले ४ दिनसम्म छोरी छुटाउने प्रयास गर्दा पनि छोरी छुटिन नमानेपछि उनिहरूले सामाजिक चलन अनुसार साइत हेरि विवाह गरिदिए।

‘हाम्रो प्रेम चोखो र पवित्र छ। यो सम्बन्धलाई भगवान आए पनि छुटाउन सक्दैन,’  उनीहरूले सांकेतिक र लेखेर प्रतिक्रिया दिए। समाजको कुरिति र धर्मलाई तोड्दै आफूहरूले विवाह गरेको अक्सनाले बताइन्। ‘हामी धर्म वा जातको आडमा पवित्र प्रेमलाई तोड्न सक्दैनौ,’ कापीका पानामा लेखेर उनले प्रतिक्रिया दिइन्। उनले आफूहरू हिन्दू र मुस्लिम भएको थाहा पाएरै बिवाह गरेको समेत बताए। केटीका बाबुले केटा पक्षलाई आफ्नी छोरी नबुझाए मार्ने सम्म धम्की दिएका थिए।

यता अनिलका बाबु ठम्बर बहादुर खत्रीले भने बुहारीलाई छोरी समान अवसर दिएर पालन पोषण गरेका गरेको प्रतिक्रिया दिए। इलाका प्रहरी कार्यालय पथरी र बेलबारीमा दुई दिनसम्म छलफल गर्दा पनि केटीका अभिभावकले केटी छुटाउने जिकिर गरि रहेपछि प्रहरीले केटाकेटीको अभिमत बुझेर केटालाई केटी जिम्मा लगाइदिएका थिए। अक्सनाको आमाले ६ महिना देखि १८ महिना भित्र बद्ला लिएरै छोड्नै बताए पछि अनिलले आफूलाई केही डर लागिरहेको बताए। उनीहरू बिच बिबाह भएको केही समयपछि अक्सनाको माईतबाट केही न केही बहाना बनाएर छोरी भेट्न आउन थाले पनि केटा पक्षले कुनै बाधा अवरोध नगरेको अक्सनाले बताइन्।

एक दिन अक्सनाको माईतबाट ल्याएको आँप र दुध खाएपछि घरमा झगडा हुन्न थालेको अनिलका बाबुले बताए। असोज अन्तिम तिर सामान्य झगडामा माईत गएकी अक्सना एक्कासी त्यसको ४ दिनपछि अदालतबाट सम्बन्ध बिच्छेद गराई र अंश पाउँ भनी चिठी आएको अनिलका बाबुले बताए। झगडा पर्दा घरबाट मिलाउन धेरै प्रयास गरे पनि नसकेपछि बुहारीकी आमाले ‘२/४ दिनका लागि पठाईदीनु म सम्झाई बुझाई पठाउँछु,’ भनेपछि अक्सनालाई माईत पढाएको खत्री बताउँछन्।

कात्तिक ४ मा हालेको मुद्दा खेप्दा केटाका बाबु ठम्बर बहादुर खत्रीले धेरै झमेला बेहोर्नुपर्‍यो। २०७३ फागुनमा डाँगीहाट ४ मा रहेको १० धुर जग्गा र २ लाख नगदको चेक दिएर उनहीरूको माग पुरा गरिदिएको खत्रिले बताए। एता बाबुलाल अहमत र आमा अजमुन बेगमले बहिरी छोरीको सम्पत्ति ललाई फकाई आफ्नो पारेका छन्। छोडपत्र भएको २ महिना बित्न नपाउँदै छोरीको सम्पत्ति आफ्नो पारेपछि कुटपिट गरी घरबाट निकालेको भन्दै इलाका प्रहरी कार्यालय पथरीमा छोरी अक्सना खातुनले निवेदन दिइन्। ‘छोरा बुहारीको राम्रो सम्बन्ध थियो घरमा केही रोकतोक थिएन त्यही मौकाको फाईदा उठाउँदै केटीका परिवारले सम्बन्ध बिगार्न लागे,’ केटाका बाबु खत्रीले  भने।

घरमा कोही नभएको मैका परी माईतीले खानेकुरामा टुनामुना लगाएर ल्याउने र खुवाएर आफ्नो घरबार बिगारेको अक्सना खातुन्ले बताइन्। अक्सना वैशाख ११ गते बिहानै पथरी पूर्वश्रीमान अनिल खत्रीको घरमा आइन्। तर घर परिवार र अनिलले तैले सम्पत्ति लिएर कानुनी रूपमा सम्बन्ध बिच्छेद गरेको भन्दै स्वीकार गर्न मानेनन्।

दुई दिनसम्म इलाका प्रहरी कार्यालयमै रहेकी अक्सनाको सहयोगका लागि भन्दै कोही पनि आएका छैनन्। प्रहरी पनि यो सम्बन्ध देखेर हैरान परेको बताउँछ। ईलाका प्रहरी कार्यालय पथरीका ईन्चार्ज राजन कार्कीले भने, ‘कानुनी रूपमा सम्बन्ध बिच्छेद  भएकाले अक्सनाको आमा बुबा बोलाएर जिम्मा लगाउनु सिवाय केही छैन। धेरै चोटी बोलायौं तर अटेर गरि आएका छैनन् आफैं पुर्‍याउन जाउ भने केटी नमान्ने, के गरौ के गरौ भयो।’ यता केटीले पनि आफू माइत नजाने बरू श्रीमानसँगै जाने अडान लिएकी छन्।

-गाेपाल काफ्ले, सेताेपाटीबाट